पश्चिम नेपालमा बढी आगलागी

0 1

काठमाडौँ, वैशाख १४ । गर्मी महिना सुरुसँगै नेपालको पूर्वी क्षेत्रको तुलनामा पश्चिम तराईमा धेरै आगलागी भएको छ । गर्मीसँगै हावाहुरी बढी चल्ने हुँदा आगो उडाएर घर तथा वन क्षेत्रमा आगलागी हुने  घटना बढेका छन् ।

कैलाली, कञ्चपुर, दाङ, नवलपरासी, सल्यान, सुर्खेत, बाँकेलगायतका जिल्लाको चुरे क्षेत्रमा बढी आगलागी भएको वन विभागका वन पैदावार अधिकृत श्रीप्रसाद बरालले जानकारीदिएका छन् ।

गत वर्षको तुलनामा यस वर्ष वनमा धेरै मात्रामा डढेलो लागेको छ । गत वर्ष दुई लाख २५ हजार हेक्टर क्षेत्रफलमा आगलागी भएकोमा यस वर्ष तीन लाख ५० हजार हेक्टर बराबरमा आगलागी भएको बरालले बताए । कुल आगलागी हुनेमध्ये ८३ प्रतिशत चैत र वैशाखमा हुने गरेको छ । त्यसमध्ये वैशाखमा मात्र ६० प्रतिशत हुने विभागले जानकारी दिएको छ ।

पूर्वी क्षेत्रमा समयमा फाटफुट पानी परेको कारण केही कमी आगलागी भएको छ । आगलागी भएका वनमा सामुदायिक, राष्ट्रिय निकुञ्ज र साझेदारी धेरै छन् ।

वनमा हुने आगलागीले बर्सेनि हजारौँ वन्यजन्तु मर्ने र मानवीय क्षतिसमेत हुने गरेको छ । यो वर्ष वनमा लागेको आगो नियन्त्रण गर्न जाँदा दुईजनाको ज्यान गएको छ । जसमा दोलखामा एक र गुल्मीमा एक जनाको ज्यान गएको हो भने थुप्रै मानिस घाइते भएका छन् ।

 

तराईका क्षेत्रमा भन्दा पहाडी क्षेत्रमा वनमा हुने आगलागी नियन्त्रण गर्न गाह्रो हुने गरेको छ । पहाडी क्षेत्रमा धेरै भिरालो जग्गा हुनु र तलबाट लागेको आगो माथितिर जाने हुँदा निभाउन कठिन हुने गरेको हो ।

वनमा लागेको आगो नियन्त्रण गर्न आधुनिक सामान नहुनु र तालिम प्राप्त जनशक्ति नहुँदा समस्या परेको छ । आगो निभाउँदा भएको मानवीय क्षतिको राहतबारे स्पष्ट  निर्देशिका पनि छैन ।

 

You might also like More from author