सामाजिक भत्ता बैंकमै

0 8

पर्वत,  वैशाख १३ । पर्वतमा चालु आवको सामाजिक सुरक्षा भत्ता बैंकमै अलपत्र परेको छ । जिल्ला विकास समितिले पहिलो र दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरणका लागि २०७२ साल असोज १९ गते गरिमा विकास बैंक लिमिटेड कुश्मा शाखालाई रकम निकासा दिए पनि अहिलेसम्म वितरण हुन सकेको छैन ।

गत असोज १९ गते पहिलो र दोस्रो चौमासिकको भत्तावृत्ति वितरण गर्नका लागि झन्डै रु चार करोड निकासा दिएको थियो । पहिलो चौमासिकमा वितरण गर्नका लागि रु एक करोड ९७ लाख ८६ हजार र दोस्रो चौमासिकका लागि रु एक करोड ९७ लाख ८६ हजार रकम निकासा दिएको भए पनि अझैसम्म वितरण हुन नसकेपछि जिल्ला विकास समितिले वितरण नहुनुको कारण माग गरेको छ ।

 

तेस्रो चौमासिकको भत्तासमेत वितरण गर्नुपर्ने बेलासम्म पनि पहिलो र दोस्रो चौमासिकको भत्ता वितरण हुन सकेको छैन । पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वडा दसँ अगावै असोज १ गतेसम्म वितरण गरिसक्न र दोस्रो चौमासिकको रकम सहिद सप्ताहको अवसरमा माघ १२ गतेभित्र वितरण गर्न बैंकलाई आग्रह गरिएको थियो ।

पर्वतमा विगत दुई वर्षदेखि सबै गाविसमा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै आएको छ । जसमध्ये गरिमा बिकास बैंकको कुश्मा शाखाबाट ठूलीपोखरी, आर्थर शङ्करपोखरी, हुवास शाखाबाट हुवास, सरौखोला, भोर्ले, त्रिवेणी, टकलाक, बेउलीवास, उरामपोखरा, शालिग्राम, वहाकी, रानीपानी, बर्राचौर र होश्राङ्दी, तथा फलेवास शाखाबाट मुडिकुवा, खानीगाउँ, देवीस्थान, लिमिठाना, ठानामौला, कुर्घा पाङराङ र बाच्छा गाविसमा वितरण गर्दै आएको छ ।

गरिमा विकास बैंकबाहेक अन्य सबै बैंकले भने वितरण गरिसकेको जिल्ला विकास समितिले जनाएको छ । पर्वतमा चालु आवमा २२ हजार ५०६ जनालाई भत्ता वितरण गर्ने जनाएको छ ।