भूमिहिन र दलित माझमा उद्यम प्रवर्धन सहकारी फैलदै

April 22 2016 02:51

 

याम प्रधान/ इटहरी, वैशाख १० । उत्तरी मोरङ्गको लेटाङभोगटेनीमा ग्रामीण गरिबी निवारणको उद्देश्य लिएर स्थापना भएको उद्यम प्रवर्धन सहकारी संस्थाले भूमिहीन र दलित समुदायको जीवनस्तर माथि उकास्ने उद्देश्य राखेर उनीहरुको समूह मार्फत उत्पादनशील कार्यमा सक्रियता बढाएको छ ।

उद्यम प्रवर्धन सहकारीमा आवद्ध ५ सय ९९ जना शेयर सदस्य रहेको यस सहकारीले महिलाहरुलाई विशेषगरी आर्थिक क्षेत्रमा पहुँच स्थापन गराउनका लागि ५ सय २७ सदस्य महिलालाई मात्र शेयर उपलब्ध गराएको सहकारीका अध्यक्ष कमल अधिकारीले बताए ।

यस सहकारीले भूमिहिन किसानहरुको समूह गठन गरेर उनीहरुलाई आय आर्जन हुने कार्यमा अग्रसर गराएको पनि अध्यक्ष अधिकारीले बताए ।
लेटाङ्गभोगटेनी नगरपालिकाको दलित र सुकुम्वासी वस्तीलाई लक्षित गरेर स्थापना भएको सहकारीले लक्षित वर्ग तथा समुहको पहिचान गरेर बाख्रा पालन, बङ्गुर पालन, तरकारी खेती सिलाइ, कटाइ जस्ता स्वरोजागर क्षेत्रमा उद्यमी बनाउने कार्य भइरहेको सहकारीकी लघुवित्त कार्यक्रमकी संयोजक गङ कार्कीले बताइन् ।

उनीहरुलाई समुहको निर्णय अनुसार एक ब्यक्तिलाई १० हजार रुपियाँसम्म कर्जा उपलब्ध गराउने कार्यक्रम रहेको छ । सहकारीका लघुवित्त कर्जा पाएर समूहमा रहेका भूमिहीन तथा सुकुम्वासी र दलित वर्गका महिलाहरु आत्मनिर्भर बन्ने प्रयासमा रहेको पनि कार्कीले बताईन् ।
साना उद्यम र लघुवित्त कर्जा लगानीमा सक्रिय रहँदै आएको सहकारीले शेयर सदस्यबाट सङ्कलन गरेर शेयर रकमबाट लगानी गर्दै आएको कर्मचारी तारादेवी भट्टराईले बताइन् ।

समूहमा आबद्ध सहकारीका यी शेयर सदस्यहरुले लिएको ऋण कतिपयले सावा ब्याजा एकैचोटी र कतिपयले सावा बुझाउँदै विस्तारै ऋण तिर्ने गरेको कर्मचारी भट्टराईले बताइन् ।

सहकारीको ग्रामीण गरिबी निवारण अभियानले यस क्षेत्रका सम्पूर्ण विपन्न समुदायका मानिसलाई आत्मनिर्भर बनाउन सकिदो रहेछ भन्ने आत्मविश्वास समेत जागृत गराएको सहकारीका अध्यक्ष कमल अधिकारीको विश्लेषण रहेको छ ।

 

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top