नयाँ घरले दिएको खुसी

April 20 2016 04:34

namuna ghar

सिन्धुपाल्चोक, वैशाख ८।  साहिँली माझी अब ढुक्क छिन् । भूकम्पले बेघरबार बनेकी उनले अहिले गतिलो आश्रय पाएकी छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १२ मा पर्छ साहिँलीको घर । केही अघिसम्म सबैले उनको गाउँलाई आरुबोटे डाँडा भन्थे । अब यो डाँडाले पनि नयाँ नाम पाएको छ, जसरी साहिँलीले नयाँ घर पाइन् ।

साहिँली सहित ४६ परिवार माझीको बसेबास रहेको यो नमुना बस्तीको चमक धेरै टाढासम्म फैलन थालेको छ । गाउँको चमक जति टाढासम्म पुगेको छ, यहाँका यी नयाँ घर बनाइदिने मानिस त्यसभन्दा धेरै टाढाबाट आएका हुन् । थाइल्याण्डमा बसोबास गर्ने नेपालीहरुको अथक प्रयासमा यो गाउँले नयाँ रुप पाएको हो । यी घर बनेपछि माझीहरुले नयाँ बास पाएका छन् ।

खोलामा माछा मार्ने, गिटी बालुवा चाल्ने र अर्काको मेलापात गरेर बिहान बेलुकाको छाक टार्ने माझीहरुको यी नयाँ घर हेर्नकै लागि पनि मान्छेहरु आउन थालेका छन् । कहिलेकाहिँ त यतिबिघ्न मान्छे किन आएका होलान् जस्तो लाग्छ साहिलीलाई पनि । गाउँमा आउने जो सुकै मान्छे पनि माछे बस्तीको यस्तो स्वरुप देखेर लठ्ठ पर्छ । भन्दै पर्दा बिस्तारै पर्यटकीय गाउँ बन्दैछ माझी बस्ती ।

गत वर्षको भूकम्पले खण्डहर बनाएको माझी बस्तीलाई यो अवस्थासम्म ल्याइपुर्याउन थाइल्याण्डमा बसोबास गर्दै आएका नेपालीहरुको ठूलो मिहेनत परेको छ । आफै खटिएर माझी बस्ती पुनर्निर्माण गरेका प्रबासी नेपालीहरुले आफ्नो काम नसकिउन्जेल पूरै समय नेपालमा विताए । माझीहरुको जीवनस्तर सुधार्नसमेत उनीहरु उत्तिकै लागीपरेका छन् । थाई नेपाली संघका उपाध्यक्ष कुमार कार्की भन्छन्— यो बस्ती निर्माणसँगै यहाँका माझी समुदायको आर्थिक र सामाजिक रुपान्तरण गर्न हामी जुटेका छौ ।

यो नमुना बस्ती केही अघि स्थानीय समुदायमा हस्तान्तरण भइसकेको छ । खानेपानी र शौचालयसहितका घर पाएपछि माझी समुदायले भूकम्पको त्रास भुल्न थालेका छन् । गाउँका सबै जना पहिलेजस्तै आ–आफ्ना काममा जुटेका छन् ।

 

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top