सेतो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न

0 5

download (6)

   काठमाडौँ, वैशाख ६   ।   करुणाका प्रतीकका रुपमा मानिने सेतो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न भएको छ ।

यही वैशाख २ गतेदेखि सुरु भएको रथयात्रा लगन टोलमा पु¥याई त्यहाँस्थित मच्छिन्द्रनाथको माताको मन्दिरमा हिजो साँझ तीन पटक परिक्रमा गराएपछि सम्पन्न भएको हो ।

रथ यात्रा गर्नका लागि गुठी संस्थानको खर्चमा एक साता अगाडिदेखि नै तीनधारा पाठशाला नजिकै रथ निर्माणको कार्य भएको थियो ।

सेतो मच्छिन्द्रनाथको मूर्तिलाई विधिविधानअनुसार रथमा विराजमान गराई रथ यात्रा गराउने परम्परा छ । सोही क्रममा असन, हनुमानढोका र लगनटोलमा रथलाई एकरात बास बसाइएको थियो । सेतो मच्छिन्द्रनाथलाई रोगव्याधी क्षय गर्ने शक्ति तथा आरोग्यताका देवताका रुपमा लिइन्छ ।

स्थानीय जनबहालस्थित मन्दिरमा राखिने सेतो मच्छिन्द्रनाथको मूर्तिलाई प्रत्येक वर्ष चैते दसैँका दिन नगर परिक्रमा गराई लगनमा दर्शन गराउने चलन रहेको मन्दिरका पुजारी स्वयम्भूरत्न बज्राचार्यले जानकारी दिए। सोमबार साँझ मूर्तिलाई रथबाट ओरालेर खटमा राखी बोकेर जनवहालमा लगिने कार्यक्रम छ ।