नेपाल र भारत चोरी–सिकारी नियन्त्रण गर्न सहमत

0 6

कञ्चनपुर, वैशाख ३। नेपाल र भारतका वन अधिकारीले वन्यजन्तुको अवैध चोरी–सिकारी नियन्त्रण गर्नका लागि कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बिहीबार नेपाल र भारतका वन अधिकारीको कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा बसेको संयुक्त बैठकले वन्यजन्तुको चोरी–सिकारी नियन्त्रण गर्नका लागि सीमाक्षेत्रमा संयुक्त गस्तीको कार्यसँगै सूचना आदान–प्रदानको कार्यलाई निरन्तरता दिने निर्णय गरेका छन् ।

बाघ संरक्षण चुनौतीको विषय भएकाले यसको रोकथामका लागि समन्वयात्मक ढङ्गले कार्य गर्ने बैठकमा सहमति भएको शुक्लाफाँटा वन्यजन्तु आरक्षका मुख्य संरक्षण अधिकृत बेदकुमार ढकालले बताए ।

उनले भारतीय पक्षबाट महाकाली नदीको ब्रह्मदेव क्षेत्रमा भइरहेको बालुवा उत्खनन  रोक्नका लागि पहल गर्नुपर्ने भारतीय समकक्षीसमक्ष राखेका छन् । भारतीय पक्षले बालुवा उत्खननको कार्य रोक्नका लागि बैठकमा प्रतिबद्धता व्यक्त गरेको उनले बताए।