तरुण दलको अधिवेशन भदौमा

0 9

Tarun dal

काठमाण्डौ,वैशाख २ । नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलले आगामी भदौ अन्तिममा चौथो महाधिवेशन गर्ने भएको छ ।
नेपाली काँग्रेसको केन्द्रीय समितिले भातृ संस्थाहरुको महाधिवेशन ६ महिनाभित्र गरिसक्ने निर्णय गरेको एक महिनापछि तरुण दलले आफ्नो चौंथो महाधिवेशन भदौको २४ देखि २६ गतेसम्म गर्ने निर्णय गरेको हो ।

तरुण दलले विहिवार काठमाडौमा पत्रकार सम्मेलन गरी महाधिवेशनको मिति सार्वजनिक गरेको हो । तरुण दलले जिल्ला अधिवेशन सम्पन्न गर्न बाँकि जिल्लाको हकमा अधिवेशनको मिति समेत तोकेको छ । उसले जेठ १० गते गाउँ र नगरको वडा अधिवेशन, जेठ १२ गते नगर अधिवेशन, जेठ २० गते क्षेत्रीय अधिवेशन तथा जेठ २५ जिल्ला अधिवेशन गर्ने घोषणा गरेको छ ।
महाधिवेशन सम्पन्न गर्न तरुण दलले विभिन्न ६ वटा समिति गठन गरेको छ । राधा घलेको संयोजकत्वमा अर्थ, कृष्णदत्त पनेरुको संयोजकत्वमा व्यवस्थापन, नारायणप्रसाद भट्टराईको संयोजकत्वमा नीति तथा कार्यक्रम, मेदिनीप्रसाद सिटौलाको संयोजकत्वमा प्रचारप्रसार, टेकराज पौडेलको संयोजकत्वमा अतिथि सत्कार र विनोद पन्तको संयोजकत्वमा स्वयंसेवक समिति गठन गरेको तरुण दलले महाधिवेशनमा विधान सम्मत सबैलाई उम्मेद्वार बन्ने बाटो खुला गर्न पार्टीको केन्द्रीय समितिलाई आग्रह गरेको छ ।