वैदेशिक रोजगारीबाट करिब तीन अर्ब भित्रिन्छ इलाममा

0 8

Rojgari

इलाम,वैशाख २ । ताजा गणनामा त तथ्यांक फरक पर्नसक्छ । तर २०६८ को राष्ट्रिय जनगणना अनुसार इलामका २१ हजार चार सय ८६ युवा रोजगारीकालागि विदेशिएका छन् । यो संख्या अहिले अझै बढ्दै गएको छ । इलाममा बैदेशिक रोजगारीबाट मात्रै बार्षिक दुई अर्ब ६८ करोड भित्रिन्छ ।

यही क्रममा इलाम प्याङ्गका रमेश सुजी रोजगारीका लागि खाडी जाने तरखरमा छन् । इलाम नगरपालिका–८ चुरेघाँटीका प्रदिप मुखिया पनि रोजगारीका लागि खाडी मुलुकको उडानको प्रतिक्षामा काठमाण्डौंमा छन् । घरमा सिकर्मी पेसा गर्दै आएका मुखिया दीगो काम र पारिश्रमिक राम्रो नहुँदा परिवारको भविष्य अन्योलपूर्ण देखेर विदेशिने सोंच बनाएको बताउँछन् ।

इलाम सोयाङ्गका पूर्ण खातीलाई पनि रोज गारीका लागि खाडी मुलुक जानु छ । जिल्ला प्रशासन कार्यालय इलाममा राहदानी बनाउनका लागि आएका उनी मुलुकको बिग्रँदो राजनीतिक अवस्था र बेरोजगारी समस्याले परिवार पाल्नकै लागि परदेश जाने सुरसारमा रहेको सुनाउँछन् ।
पुरुष मात्र होइन रोजगारीका लागि विदेशिने महिला समेत वर्षेनि बढिरहेका छन् । इलाम बरबोटेकी इशा गुरुङ्ग पनि आय आर्जनको अवसर नभेट्दा विदेशिने तयारीमा छन् । रोजगारीका लागि खाडी मुलुक जान खुट्टा उचालेका अधिकांशले दिने जवाफ सधैं एउटै छ–‘गाउँघरमा रोजागारी छैन, देशको अवस्था सुध्रेन ।’

सशस्त्र द्वन्दका क्रममा विदेशिएका इलाम साकफाराका सन्तोष श्रेष्ठ उतिबेला पनि यस्तै कारणले विदेशिएका थिए । १५ वर्ष दुवईमा पसिना बगाएका उनी अब चाँहि यतै बस्नु पर्छ की भन्ने मनस्थितिमा छन् ।

रोजगारीका लागि विदेश जान आर्थिक वर्ष २०५४÷५५ मा दुई सय ५९ ले राहदानी बनाएका थिए । त्यो संख्या बढेर ०६१÷६२ मा चार हजार आठ सय ६५ पुगेको छ । जिल्लामा द्वन्दको अत्याधिक प्रभाव रहेको ०६०÷६१ मा दुई हजार आठ सय ६८ जनाले राहदानी बनाए । जनआन्दोलन सकिएर शान्ति कायम हुन थालेयता ०६२÷६३ मा तीन हजार आठ सय ६१ ले राहदानी लिए ।

पहिलो संविधानसभाको चुनाव भएको वर्ष चार हजार आठ सय ७९ र अर्को वर्ष छ हजार ५४ ले राहदानी बनाए । राहदानी लिनेको तथ्याङ्कलाई आधार मान्दा द्वन्द बढे पनि घटे पनि विदेशिनेको लर्को उस्तै छ । ‘गाउँघर, छोराछोरी छोडेर जान मन त कसलाई हुन्छ र ! मेरो त हातमा सीप पनि थियो तर, यहाँको कमाइले घर चलेन’–इलाम प्याङ्गका रमेश सुजीले भने–‘महिनामा चार÷पाँच हजारको कमाइले यो महँगीमा कसरी घर चल्छ ?’

चिया, अलैची, अदुवा, अकवरे, अम्लिसोलगायत दुध र फलफुल उत्पादनमा अग्रणी यो जिल्लामा बार्षिक २० अर्ब रुपैया“ भन्दा धेरै भित्रने तथ्याङ्क छ । तर विदेशिनेको बढ्दो संख्याले कृषि प्रणालीलाई रोजगारीको अवसर देख्न सकेको छैन । यो अवधिमा जिल्लामा केही चिया कारखाना बाहेक पर्याप्त रोजगारीको अबसर सिर्जना गर्ने ठूला उद्योग खुल्न नसक्नु पनि विदेशने क्रम नघट्नुको कारण मान्छन् सरोकारवालाहरु ।

‘राहदानी बनाउन आउने अधिकांश बढ्दो खर्च, रोजगारीको अवसरको अभाव र राजनीतिक अस्थिरतालाई विदेशिनुको प्रमुख कारण मान्न छुटाउँदैनन्’–जिल्ला प्रशासन कार्यालयस्थित राहदानी फा“टका बिनोदबाबु बिसीले भने । २०६८ सालको जनगणना अनुसार जिल्लामा ६४ हजार पा“चसय घरधुरी छन् ।

जनसंख्या दुई लाख ९० हजार दुई सय ५४ छ । ५४ सालदेखि अहिलेसम्म करीव ७० हजार राहदानी बनेका छन् । तीमध्ये अधिकांश वैदेशिक रोजगारीको उद्देश्यका लागि बनेका हुन् । यो आ“कडालाई हेर्दा हरेक घरबाट एक जना भन्दा धेरै विदेशिएका छन् । जिल्लाको बृच चित्र अनुसार सबैभन्दा बढी रकम मलेसियाबाट भित्र्ने गरेको छ ।

मलेसियाबाट मासिक पाँच करोड, ९७ लाख २८ हजार, कतारबाट मासिक रुपमा दुई करोड ६३ लाख, साउदीबाट मासिक रुपमा दुई करोड ३३ लाख ५० हजार रुपैयाँ, दुवईबाट एक करोड ५२ लाख ७९ हजार रुपैयाँ, रकम जिल्ला भित्रने गरेको छ । यस बाहेक जिल्लामा बहराइनबाट बर्षेनी एक करोड नौ लाख रुपैयाँ, कोरियाबाट ८४ लाख ७८ हजार, कुबेतबाट तीन करोड ६ लाख, ओमनबाट १६ लाख ९० हजार, जापानबाट एक करोड तीन लाख रुपैयाँ जिल्ला भित्र्ने गरेको छ ।

त्यस्तै युकेबाट एक करोड ४२ लाख ५८ हजार, अमेरिकाबाट २७ लाख, जोर्डनबाट ३६ लाख ६७ हजार, भारतबाट ३० लाख, ब्रुनाइबाट १२ लाख पाँच हजार, लेवनानबाट १३ लाख १९ हजार रकम इलाम भित्रने गरेको छ ।