चितवन निकुञ्जमा अव अर्ना र वाह्सिंगे

0 11

Barsingha

चितवन । पाटे बाघ र एकसिंगे गैडाको लागि परिचित चितवन राष्ट्रिय निकुञ्ज अव अर्ना र वाह्सिंगे जनावरको लागि पनि वासस्थान हुने भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जले पूर्वी क्षेत्रको पुरानो पदमपुरमा अर्ना र वाह्सिंगेका लागि वासस्थान तयार गर्दैछ । पदमपुरमा घाँसे मैदान, पानीको स्रोत, वासस्थानको लागि उपयुक्त ठाँउ भएकाले अर्ना र वाह्सिंगे ल्याउन लागिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कडेलले बताए । दुवै जनावरका लागि चितवन निकुञ्ज उपयुक्त स्थान हो संरक्षण अधिकृत कडेलले भने एक वर्ष अगाडिदेखि ल्याउनको लागि निर्णय भएको थियो ।

निकुञ्जको पदमपुर क्षेत्र घाँस खाने प्रजातिका जनावरका लागि सवैभन्दा उपयुक्त स्थान हो । एकवर्ष अगाडिदेखिको प्रयास अहिले आएर काम सुरु भएको हो । कोसी टप्पु वन्यजन्तु आरक्षणबाट अर्ना÷शुक्लाफाटा वन्यजन्तु आरक्षणबाट बाह्रसिङ्गे ल्याउने निर्णय संगै वासस्थानको लागि निकुञ्ज जुटेको हो । उपयुक्त स्थान पदमपुरमा पानीको स्रोत सफा गरिदैछ । जनावरका लागि उपयुक्त हुने भन्दै पानी घाँसेमैदान तयार पार्नको लागि अहिले धमाधम काम भइराखेको छ । पहिले बस्ती हुँँदा प्रसस्त भएको पानीका स्रोतहरुलाई व्यवस्थित वनाएर जनावरहरुको लागि उपयुक्त वनाउने काम भइराखेको छ । पदमपुर क्षेत्रमा प्रसस्त ताल तलैया भएकाले जनावरहरुको लागि धेरै राम्रो हुनेछ । तालको पानी जान नदिनका लागि कतिपयमा ड्याम वनाउने, पोखरी वनाउने काम भएको निकुञ्जले जनाएको छ ।

वासस्थानको लागि निकुञ्जले २० हेक्टरमा घाँसे मैदान तयार पारिसकेको छ । वाह्सिंगेको सुरक्षाको लागि तारवार समेत लगाइने भएको छ । अवको एकवर्ष भित्रै अर्ना र वाह्सिंगे ल्याउने तयारी भएको कडेलले बताउनु भयो । पहिलो पटक अर्ना २५ वटा र वाह्सिंगे २५ वटा ल्याएर राखिने छ । कोसी टप्पु आरक्षण क्षेत्रमा मात्र रहेका अर्नाको लागि चितवन निकुञ्ज पनि उपयुक्त स्थान भएकाले यहाँ सो जातिका जनावरको सख्यामा समेत वृद्धि हुने निकुञ्जले जनाएको छ । वाघ र मासु खाने जनावरहरुको आक्रमणबाट वचाउनका लागि तारवार गर्ने तयारी भएको छ । निकुञ्जमा अर्ना र वाह्सिंगे हेर्नको लागि आउने पर्यटकले परबाट अवलोकन गर्न सकिने व्यवस्था मिलाइने निकुञ्जले जनाएको छ । थप जनावर ल्याएपछि चितवन निकुञ्ज हेर्नको लागि आउने पर्यटकको सख्या वृद्धि हुने अनुमान गरिएको छ ।

नेपालमा कोसी टप्पु वन्यजन्तु आरक्षणमा सन् २०१३ मा भएको गणना अनुसार ३२७ वटा अर्ना रहेका छन् । यस वर्ष पनि पुन त्यस क्षेत्रमा अर्नाको गणनाको तयारी भएको छ । बाह्रसिङ्गे शुक्लाफाटा आरक्षण क्षेत्रमा दुइहजार भन्दा धेरैको सख्यामा रहेको छ भने वर्दिया राष्ट्रिय निकुञ्जमा एकसयको सख्यामा रहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैँडा, बाघ, हात्ती, जरायो, चित्तल, गौरीगाइ, बँदेल, निलगाइ जस्ता जनावर २६ प्रजातिका चरा, ६४ प्रजातिका स्तनधारी, एकसय भन्दा धेरै घस्रने जातिका उभयचरहरु पाइन्छ । नेपालको पुरानो निकुञ्ज चितवनमा धेरै प्रजातिका जनावरहरु पाइने र अवलोकन गर्नको लागि अन्य निकुञ्जको तुलनामा सुगम भएकाले पनि यहाँ आउने पर्यटकको सख्या धेरै हुने गरेको छ । आफ्नो देशमा भएका जनावर, वन्यजन्तु देखाएर विदेशी पर्यटक धेरै भित्राउन सकेमा विदेशी मुद्रा नेपाल भित्रले पर्यटन क्षेत्रमा लागेकाहरुले बताएका छन् ।