गहुँ उत्पादनमा ह्रास

0 6

Gahu

गाईघाट, चैत २८ । समयमा वर्षा र मलखाद नहुँदा गहुँ उत्पादनमा यसवर्ष ह्रास आएको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार यस पटक विगतका वर्षको तुलनामा झण्डै ४० प्रतिशत गहुँ उत्पादनमा ह्रास आएको हो । गत वर्ष जिल्लाको करिब पाँच हजार १२६ हेक्टर क्षेत्रफलमा गहुँ खेती गर्दा १२ हजार १५६ मेट्रिकटन गहुँ उत्पादन भएको थियो । यस वर्ष गहुँ खेती गर्ने समयमा मल बीउ र इन्धनको अभाव हुँदा उत्पादन घटेको तपेस्वरी–५ का अगुवा कृषक दुर्गाप्रसाद भट्टराईले बताए।

जिल्लाको गहुँ उत्पादन हुने तपेस्वरी, हँडिया, सुन्दरपुर, जोगिदह तथा त्रियुगा नगरपालिका क्षेत्रमा यसपटक धेरै कृषकले गहुँ खेती गर्न नसकेको जोगिदहका अगुवा कृषक देवीप्रसाद खनालले बताए।

गहुँ उत्पादनबाट मनग्य आम्दानी गर्दै आएका किसान यसपटक गहुँ उत्पादन सन्तोषजनक हुन नसकेको कारण निरास भएका छन् ।

मौसम प्रतिकूल हुनु र अन्य प्राविधिक कारणले पनि यस पटक गहुँ उत्पादनमा ह्रास आएको कार्यालयका बालिविकास अधिकृत रामसेवक ठाकुरले बताए।