रोजीरोटीको भरोसा नभएको भन्दै सञ्चारकर्मीहरु धमाधम पलायन

0 6

Patriak
याम प्रधान/
इटहरी, चैत २८ । भरखरै सरकारले सञ्चारकर्मीहरुलाई झण्डै बीस हजार मासिक तलव दिने नीति अघि सारिरहेको खवर प्राप्त भई रहँदा राजधानीबाट प्रकाशन वा प्रसारण हुने विभिन्न सञ्चार माध्यम र स्थानीय सञ्चार माध्यममा कार्यरत इटहरी आसापासका डेढ दर्जन सञ्चारकर्मीहरुले पेशा परिवर्तन गरेका छन । मुलुकमा प्रजातन्त्र बहालीपछि राम्रो विकास भएको सञ्चार उद्यम विस्तारै श्रम शोषण गर्ने गृहमा परिणत हु्ँदै गएपछि सञ्चारकर्मीहरु पलायन हुने क्रम तिब्र बन्न थालेको पाईएको छ ।

दिनरात चर्को घाम र पानीको समेत पर्वाह नगरि घोटिदा पनि सञ्चारकर्मीहरुले आफु र परिवार पाल्न सक्ने तलव नपाएकै कारणले सञ्चार गृहहरुमा काम गर्दै आएका सञ्चारकर्मीहरुले धमाधम ती सञ्चारगृह छाडेर बैकल्पिक पेशामा लाग्न बाध्य भईरहेको तथ्य पनि बाहिर आएको छ । नीजि सञ्चार माध्यमदेखि सरकारी सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुले खटाई अनुसारको पारिश्रमिक नपाउने र भनेको समयमा वा आपत पर्दा पैसा नै नपाईने भएपछि सञ्चारकर्मीहरुले अपनाएको पेशा परिवर्तन गर्न थालेको यो तथ्याङ्कले प्रष्ट्याएको छ ।

नेपाल टेलिभिजनमा धरानबाट रिपोर्टिङ्ग गर्दै आएका सञ्चारकर्मी महेश श्रेष्ठले आफु र परिवारको पालन पोषण सम्भव नदेखेकै कारण नेपाल टेलिभिजनको रिपोर्टर छाडेर साउदी अरवतिर बैदेश्कि रोजगारमा हामफालेका छन । उनी निकै पुराना सञ्चारकर्मी पनि हुन । उनी जस्तै लामो समय नेपाल टेलिभिजनमा नै धरानबाट रिपोर्टिङ्गमा सक्रिय बिजयकुमार श्रेष्ठले पनि बाध्य भएर म्यूजिक मेडिया रेकर्डिङ्ग स्टुडियोतिर लागे । रेडियो नेपालमा लामो समय रिपोर्टिङ्ग गरेका सुनसरी इटहरीका गोविन्द घिमिरेले पनि भविष्य नदेखेकै कारण रेडियोको रिपोर्टिङ्ग पेशा परित्याग गरिदिए । उनी नेपाल पत्रकार महासङ्घ सुनसरीको सभापति समेत थिए ।

पछिल्लो पटक इटहरीमा स्थापना भएर विराटनगरबाट हाल प्रसारण हुँदै आएको मकालु टेलिभिजनमा स्थापनाकालदेखि नै सक्रिय रहेका सञ्चारकर्मी तथा क्यामेरामेनहरु बुलेट खतिवडा गुरु ढकाल रिपोर्टर सुरेश घिमिरेले पनि मकालु टेलिभिजनको रिपोर्टिङ्ग वा क्यामेरा पर्सनको रोजगारी छाडेर अन्यत्र लागेका छन । सुरेश घिमिरे केही दिनमा नै कोरियातिर हान्निदैछन । बुलेट खतिवडाले फोटो स्टुडियो खोले भने गुरु ढकाल किराना पसलतिर हान्निए । सुरेश घिमिरे मकालु टेलिभिजन बाहेक इटहरी एफएममा पनि कार्यरत थिए । सिप र दक्षता नभएका मान्छेको पेलाई अनि समयमा पारिश्रमिक नदिने भएकाले आफुहरुले स्वतन्त्र ढङ्गले जीवन यावनको विकल्पको खोजी गर्ने क्रममा फोटो स्टुडियो बिकल्प फेला पारेको बुलेट खतिवडाको भनाई छ ।

यसैगरी राजधानी दैनिक, स्थानीय अरु केही दैनिक र मकालु टेलिभिजनमा इटहरीबाट नै रिपोर्टिङ्ग गर्दै आएका सञ्चारकर्मी पवन अधिकारीले पनि सक्रिय पत्रकारिता छाडेर विज्ञापन उजेन्सीतिर रमाउन थालेका छन । पत्रकार अधिकारी भन्छन कति घोटिने ? घरबार छाडेर दौडियो । घरकै पैसा लगानी ग¥यो महिनामा पैसा नै आउँदैन अनि कसरी आफु र परिवार चल्छ त्यसैले मैले त पत्रकारिताभन्दा विज्ञापन एजेन्सीतिर पो होमिन ठीक देखे भन्छन । उनले भने राजधानी काठमाण्डौबाट प्रकाशन हुने ठूला अखवारहरुमा विज्ञापन दिनेमा राम्रो स्थान पनि पाएँ अनि उचित आम्दानी पनि देखेर यतातिर पो लागे भन्छन पत्रकार अधिकारी ।
धरानको बिजयपुर एफएमबाट लामो समयदेखि तलब नपाएपछि सञ्चारकर्मी सुनिता केसीले पनि एफएमको जागिर छाडिदिएकी छिन । यस्तै पत्रकारिताबाट जीवन धान्न सम्भव नभएपछि नविन पाण्डे अहिले दुवईतिर पुगेका छन । उनी नमस्ते एफएममा लामो समय काम गरेका सञ्चारकर्मी हुन ।

यता सप्तकोशी एफएममा कार्यक्रम उत्पादक तथा प्रसारकका रुपमा कार्यरत एशोदा सेनेले पनि सञ्चारकर्मीको जागिर छाडेर महिला बचत ऋण सहकारी संस्थाको ब्यवस्थापक पद सम्हाल्न पुगेकी छिन । उता सगरमाथा टेलिभिजनका सुनसरी सम्वाददाता उमेश सुन्चेउरी पनि पेशा छाडेर बैदेशिक रोजगारका लागि अष्ट्रेलिया पुगेका छन ।

परिवर्तन एफएमका सञ्चालक लक्ष्मण रिजाल रेडियो चलाउँ्रदा चलाउँदै अमेरिकातिर हान्निए भने स्थानीय विभिन्न अखवारहरुमा कार्यरत मेनुका भुजेलले विवाहपछि पोखरातिर ब्यापार ब्यवसायतिर कदम अघि सारेकी छिन । सक्रिय सञ्चारकर्मीहरु धमाधम पेशा छोडेर अर्को विकल्पतिर जाने क्रममा रेणु बजगाई, राजन सुवेदी, सविना कोईराला लगायतले पनि सञ्चार क्षेत्र छाडेर गृहस्थी र ब्यापारिक पेशातिर रमाउन थालेको छन ।