संविधानको ज्योतिषीय विश्लेषण : आकस्मिक राजनैतिक दुर्घटना हुने

0 39

 ज्यो.दीपक सुवेदी

नेपाली जनताको ठूलो त्याग–तपस्या र संघर्षको बलबाट बनेको संज्ञा प्राप्त नेपालको नयाँ संविधान २०७२ घोषणा हुँदा नेपाली आकाशको    क्षितिजमा मीन लग्न उदाइरहेको देखिन्छ । कुण्डलीमा लग्नेश तथा दशमेश बृहस्पति द्वितीयेश तथा नवमेश मङ्गलसँग शनिको           दृष्टिमा षष्ठम् भावमा गएर बस्नुले आत्मरक्षा भन्दा पनि शत्रुपोषक भएको देखिन्छ । यसले यो संविधानलाई आधार मानेर गरिने देशका हर कार्यहरूमा शत्रुको प्रभाव बढाउने छ ।

दीपक गुरु .
दोस्रो संविधान सभा निर्वाचनभन्दा पूर्वको राजनीतिक क्षेत्रबाट निकास ननिस्कने ज्योतिषीय विश्लेषण यसअघि पनि प्रकाशित गरेको थिएँ । परिणाम त्यतिबेलाको राजनीतिक संयन्त्रबाट निकास ननिस्किएर प्रधानन्यायाधीशको अध्यक्षतामा सरकार गठन भयो । पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा बनेको सरकारले पनि चुनाव गराउन सक्ला वा नसक्ला भनेर शंकाका कुराहरू उठ्थे । खिलराजजीको सरकारले दोस्रो संविधानसभाको निर्वाचन गराउन सक्छ भनेर मैले लेखें, सो पनि पूरा भयो ।

 

दोस्रो संविधानसभाको निर्वाचन पछि केही ज्योतिषीबाट सो संविधानसभाबाट पनि संविधान आउन नसक्ने धारणा आइरहेको बेला मैले धर्मलाई सम्बोधन गरेको खण्डमा दोस्रो संविधानसभाले संविधान दिनसक्छ भनेको थिएँ । त्यस्तै २०७१ माघ ८ भित्र संविधान आउन नसक्नाको कारणहरूलाई दर्शाएर पनि लेखें । यो संविधान सबै विषय समेटिएर भने आएको छैन । तथापि प्रमुख विषयलाई समेट्न खोजिएको भान हुन्छ । संविधान घोषणाको मुहूर्तको ग्रह परिस्थितिलाई हेर्दा यो संविधानको भविष्य कस्तो हुने भन्ने विषयमा सन्देह छ ।

मेरो दृष्टिकोणमा मैले गरेका ज्योतिषीय विश्लेषण एवम् भविष्यवाणी जो सार्वजनिक रूपमा आए, अहिलेसम्म घटेका घटनाक्रमले ती पूरा भएको मेरो बुझाइ छ । संविधानमा धर्मनिरपेक्ष शब्द नहटाए पनि परिभाषाको अनुसूचि राखेर सनातन धर्मलाई सम्बोधन भएको छ । ज्योतिष विज्ञानले देखाएको संकेत अकाट्य नै हुन्छ भन्ने प्रमाण हो त्यो । भलै ज्योतिषीले त्यसलाई अभिव्यक्त तथा अर्थ गर्ने तरिका फरक–फरक हुनसक्छ र घट्ने

घटना परकारान्तरको घट्न सक्छ । त्यस्तै नै भएको देखाउँछ अनुसूचिको परिभाषाले ।
संविधान जारी भएपछि धेरै महानुभावहरूले यो संविधानसँग जोडेर अबको भविष्यको बारेमा जिज्ञाशा राख्नु भएको छ र एउटा ज्योतिषीको नाताले नेपालको संविधान २०७२ को बारेमा आफ्नो बुद्धिविवेकले भ्याएसम्मको विश्लेषण दिनखोजेको छु ।

यहाँनिर एउटा ज्योतिषीको नाताले मैले संविधानजारी हुँदाको समयको कुण्डलीको आधारमा जे देखिन्छ अथवा मेरो बुद्धिविवेकले जे देख्छ त्यो राख्नुपर्छ । मेरो ज्योतिषीय दृष्टिकोणमा यो संविधान घोषणाको समयको ग्रहावस्था राम्रो देखिंदैन र त्यसले नेपालीको अपेक्षा पूरा गर्ने कुरामा शंका छ । भलै यस मामलामा मैले एउटा नेपाली नागरिक हुनाको कारणले पनि बनेको संविधानबाट देशको समुन्नति होस भन्ने चाहनु पर्छ ।

बरु मेरो ज्योतिषीय विश्लेषण गलत सावित होस र नेपाल–नेपालीको भविष्य कोर्न बनेको संविधान सफल होस भन्ने चाहनु पर्छ, त्यसमा नै मलाई सन्तुष्टि हुनेछ । तर, बनेको संविधानको ग्रहस्थिति राम्रो नदेखिएको कुरालाई पनि मैले यहाँ आफ्नो पेशागत धर्मबाट राख्नुपर्छ भन्ने मेरो बुझाई रहेको छ ।
नेपाली जनताको ठूलो त्याग–तपस्या र संघर्षको बलबाट बनेको संज्ञा प्राप्त नेपालको नयाँ संविधान २०७२ घोषणा हुँदा नेपाली आकाशको क्षितिजमा मीन लग्न उदाइरहेको देखिन्छ । कुण्डलीमा लग्नेश तथा दशमेश बृहस्पति द्वितीयेश तथा नवमेश मङ्गलसँग शनिको दृष्टिमा षष्ठम् भावमा गएर बस्नुले आत्मरक्षा भन्दा पनि शत्रुपोषक भएको देखिन्छ । यसले यो संविधानलाई आधार मानेर गरिने देशका हर कार्यहरूमा शत्रुको प्रभाव बढाउने छ । हुनलाई मङ्गल छैठौं हुनु, त्यसमाथि शनिको दृष्टिप्रभाव हुनु शत्रुहन्ता योग पनि हो ।

तथापि लग्नमा केतुको स्थिति र राहुको दृष्टि तथा शनिआदि पाप ग्रहको भूमिकालाई हेर्दा दुर्घटनाकारक योगको निर्माण भएको छ जसले राजनैतिक लगायतका आकस्मिक विभिन्न दुर्घटनालाई लक्षित गरिरहेको छ ।
चतुर्थेश एवम् सप्तमेश बुधले षष्ठेश सूर्यसँग बुधादित्य योग बने पनि साथको राहुले ग्रहणयोग बनाएको पनि छ । जसले गर्नपर्ने शुभफलमा कटौती

गरिदिने छ । वैदेशिक सम्बन्ध, यात्रा, व्यापार आदि क्षेत्रमा ग्रहण लाग्छ ।
पञ्चमेशनवम् हुनु सकारात्मक र कारक हो तर,शनियुक्त हुनाले राज्यमा मनोवैज्ञानिक तथा अदृश्य समस्या बढाउने हुन्छ । भय–त्रास, शंका–आशंकाआदिले राज्यका अङ्ग–अङ्गमा प्रभाव पार्नेछ । तृतीयेश तथा अष्टमेश शुक्र पञ्चममा केतुको दृष्टिमा अकारक भएर रहनुलाई पनि शुभ मान्न सकिदैन,यसले रोगव्याधिको संकेत गर्छ ।

बल गरेरै यो कुण्डलीमा सकारात्मक पक्षको खोजीगर्दा – दशमेश तथा लग्नेश र धनेश एवम् भाग्येश छैंठौं भावमा हुनुले नागरिक, वर्ग, पक्ष एवम् राज्यका अधिकारीहरूलाई प्रतिस्पर्धा आदि संघर्षका कामहरूको अभ्यास गर्न सिकाउने ग्रह हो भन्न सकिन्छ । यसले सम्बन्धित क्षेत्रमा क्रियाशीलता बढाउने र आत्मनिर्भरताका उपायहरू अवलम्बन गर्न खोज्ने जस्ता काममा उत्प्रेरित गराउन मद्दत गर्नेछ ।

भलै उन्मादि एवम् अन्धविश्वासीतर्फ उत्प्रेरित हुन राज्यका निकाय एवम् आमसर्वसाधारणलाई बाध्य गराउने सम्भावना भएपनि नवमेश मङ्गल गुरुयुक्त हुनाले र नवौंमा चन्द्रमा रहनाले केही हद्सम्म यसले धार्मिक क्षेत्र एवम् कार्यको विकास गर्न मद्दत गर्ने छ । मनोवैज्ञानिक ढङ्गले सम्पादन हुने कार्यहरुको विकास हुनेछ ।

ग्रहण योगमा भएपनि बुध ग्रह स्वगृहीभई सूर्यसँग द्विस्वभाव राशिमा बुधादित्य योग बनाएर रहेकोले संघर्षले केही राम्रा काम गराउन मद्दत गर्नेछ । नजिकको छिमेकीबाटभन्दा थोरै परको छिमेकीबाट सहयोग एवम् लाभलिन सकिनेछ । लाभेश र व्ययेशको स्थितिलाई ठिकै मान्न सकिन्छ । यसले जलस्रोतबाट हुने आम्दानी एवम् विकासलाई मद्दत गर्नेछ । ऋण–अनुदान सहयोग आदिको पक्षलाई यसले भूमिका निर्वाह गरेको छ ।
उपर्युक्त ग्रहस्थितिलाई हेर्दा संविधान घोषणाकालको कुण्डलीमा केहीपक्ष सकारात्मक रहे पनि लग्नेश एवम् कर्मेश गुरु र भाग्येश तथा धनेश मङ्गलले शत्रु क्षेत्रसँग आत्मसमर्पण गरेको र लग्नमा केतुको स्थिति रहेकोले अप्ठ्यारो–आत्मघात आदिलाई बढी लक्षित गरेको देखिन्छ । जसको कारणले गर्दा यो संविधानलाई आधार मानेर गरिने कार्यबाट देशको समुन्नति, राष्ट्र–राष्ट्रिय भावना, नागरिक एवम् सामाजिक सद्भावलाई झन्–झन् कमजोर बनाउनसक्ने देखिन्छ ।

यो संविधानले दिगो मान्यता पाउन कठिन देखिन्छ । जन्मदै बालारिष्ट परेको बच्चाका जस्तो ग्रहस्थिति देखिएको हुनाले यसको आयुकै विषयमा सन्देह देखिन्छ । देश विकासभन्दा पनि आङ्गिक तथा आन्तरिक समस्यामा बढी अल्झाइरहने वातावरण सृजना हुने ग्रहले देखाइरहेको छ । छोटो समयमै यसको विकल्पको खोजि नहोला भन्न सकिन्न । राज्यका अङ्गहरूमा विभिन्न बहानामा टकराव सृजना हुनेछन् । संविधानका धेरै व्यवस्थाहरू निरोपयोगी हुनसक्ने छन् ।

यी कुराहरू अहिले घट्दै गरेका तथा घट्न थालेका घटनक्रमलाई हेरेर र हचुवाको भरमा अभिव्यक्त गर्न खोजिएको होइन । यसमा सम्बन्धितहरूले आ–आफ्नो ठाऊँबाट सोधखोज गर्न सक्नुहुने छ भने ज्योतिर्विदहरूले पनि विश्लेषण गरी उचित मार्गदर्शन गर्न सक्नुहुनेछ ।
राज्यले महत्वपूर्ण काम सम्पादन गर्दा ज्योतिष विज्ञानले निर्देशन गरेको मार्गदर्शनलाई आत्मसात गरेर गर्नुपर्छ तर नेपालमा त्यसको अनुसरण हुन छाडेको देखिन्छ ।

जसले गर्दा राज्य तथा राजनीतिक दलहरूले गर्ने कार्यबाट देश र जनताले दुःख कष्ट व्यहोर्न परिरहेको छ । ज्योतिष विज्ञानलाई वेवास्ता गरि“दा अहिलेसम्मका जनसंघर्षहरू र ति जनसंघर्षका उपलब्धिहरू बालुवामा पानी खन्याएसरी भइरहेका छन् । संविधानसभाबाट संविधान निर्माण गरेर जारी गर्ने जस्तो अति महत्वपूर्ण कार्यमा समेत सो कुराको हेक्का राखिएन ।

जसले गर्दा संविधानजारी भएकै क्षणदेखि विपरित फलका लक्षणहरू प्रतित हुन थालिसकेका छन् । खुशियालीको सट्टा विरोधका स्वरहरू गुञ्जिरहेका छन् । संविधान जस्तो विशेष महत्वपूर्ण विषयको घोषणा तथा निर्णय गर्दा मुहूर्तविज्ञानलाई वेवास्ता गरी देश र जनताप्रति गरिएको गैरजिम्मेवारी कार्यप्रति राजनीतिक क्षेत्रलाई नागरिकले धिक्कार्ने शिवाय के स्यावासी दिनसक्छन् र †

यो नयाँ संविधान २०७२ को बारेमा दिइएको ज्योतिषीय दृष्टिकोण हो । उपर्युक्त फल विभिन्न तवरबाट प्रकारान्तरबाट घटित हुनसक्ने हुन्छ । यो दृष्टिकोणबाट सम्बन्धित पक्ष एवम् आमनागरिकले आउनसक्ने समस्याको निरुपणको लागि अपनाउन पर्ने उपायहरू अवलम्बन गर्न अथवा खोज्नसक्नु अर्थात सकूनभन्ने ज्योतिष विज्ञान तथा ज्योतिषीको उपादेयता हो । अस्तु ।।।