एघार उद्योगका उत्पादनविरुद्ध मुद्दा

0 7

मोरङ, चैत १९ । पूर्वाञ्चलका ११ उद्योगका उत्पादनविरुद्ध क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले मुद्दा चलाएको छ।गत मङ्सिरदेखि फागुनसम्मको चार महिनाको अवधिमा बजार अनुगमनका क्रममा मापदण्ड विपरीत खाद्य वस्तु उत्पादन गर्ने पूर्वाञ्चलका ११ उद्योगविरुद्ध मुद्दा चलाइएको हो ।

पूर्वाञ्चल क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाका अनुसार विराटनगरको विके मसला उद्योग, डेरी फ्रेस उद्योग वीरगन्ज, नेपाल वेलहोप एग्रोटेक प्रालि टङ्किसिनुबारी, स्टार फिड इन्ड्रस्ट्रिज झापा, मिल्कफुड डेरी प्रोडक्ट बारा, बुधकरण टी प्याकेजिङ झापा, केवि एन्ड सन्स नेपाल लहान, प्रवीण बटारे बिस्कुट बेकरी झापा, श्रीराम रिफाइन आयल प्रोडक्ट प्रालि, पेरी फ्रेस उद्योग वीरगन्ज र मिल्क फुड डेरी प्रोडक्टका उत्पादनहरू मापदण्डविपरीत बजारमा बिक्री–वितरण गरिएको पाइएपछि मुद्दा चलाइएको हो ।

बुधकरण टी प्याकेजिङ इन्डस्ट्रिज झापाले उत्पादन गरेको चिया र प्रवीण बटारे बिस्कुट बेकरी झापाका बिस्कुट र पाउरोटीमा लेबल नभएको पाइएको कार्यालयका प्रमुख प्रमोद कोइरालाले जानकारी दिए। अनुगमनका क्रममा सङ्कलित खाद्यवस्तुको नमुना जाँच गर्दा छवटा वस्तु मापदण्ड विपरीत रहेको पाइएको प्रमुख कोइरालाले बताए।