उपत्यकामा साँझसम्म मौसममा सुधार आउने

April 01 2016 01:58

न्यूनचापीय क्षेत्रको विकासले मौसममा खराबी

Clean sky

काठमाडौँ,चैत १९ । नेपालको मध्य र पूर्वी भागको उच्च वायुमण्डलमा न्यूनचापीय क्षेत्रको विकासका कारण मौसममा खराबी आएको मौसम पूर्वानुमान महाशाखाले छ ।

उच्च वायुमण्डलमाथि एउटा न्यूनचापीय मौसमी प्रणाली बसेका कारण मध्यपूर्वी र मध्य क्षेत्रमा पानी परेको हो ।

महाशाखाका अनुसार बिहीबार काठमाडौँमा ३।८, पोखरामा ३।३, भैरहवामा ४।२, ओखलढुङ्गामा ४।१, विराटनगरमा ३०।९, ताप्लेजुङ्गमा १।० मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी कास्कीको लुम्लेमा ४६।० मिलिमिटर र सबैभन्दा कम धनकुटामा ०।१ मिलिमिटर वर्षा भएको छ ।

न्यूनचापीय प्रणालीको प्रभावले चट्याङ गराउने खालको बादल विकास गराएको र मध्य र पूर्वका पहाडी भेगमा मेघ गर्जनसहित वर्षा र हावाहुरी चलेको मौसमविद् सुवास रिमालले जानकारी दिए ।

पश्चिमी पहाडी क्षेत्रमा पनि स्थानीय जलवास्पयुक्त हावा सक्रिय हुँदा मौसममा खराबी आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उपत्यकामा साँझसम्म सुधार आउने र पूर्वी भेगमा भने यो प्रणाली केही दिन जारी रहने छ । पश्चिमी भेगबाट पुनःअर्को प्रणाली विकास भएकाले शुक्रबार पश्चिमी क्षेत्रमा बदली हुनेछ ।

प्रिमनसुनको अवस्थामा मेघ गर्जनसहित वर्षा र हावाहुरी चल्नु सामान्य भएको मौसमविद्को भनाइ छ । बिहीबार काठमाडौँ उपत्यकाको अधिकतम् तापक्रम २६।८ र न्यूनतम् तापक्रम १२।५ डिग्रिसेल्सियस रहेको महाशाखाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top