इलाममा दुई जना औलो रोगी भेटिए

0 7

इलाम, चैत १२ । दक्षिणी इलामको चुलाचुली गाविसमा दुई जना औलो रोगी भेटिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जिल्ला स्वास्थ्य कार्यालय इलामको समन्वयमा झापासँग सिमाना जोडिएका चुलाचुलीसहित बाँझो, दानावारी, महमाई र चिसापानी गाविसमा औलो रोगबारे गरेको सर्भेक्षणको क्रममा दुई जना औलो रोगी भेटिएका हुन् ।

पाँच सदस्यीय विशेषज्ञको टोलीले चैत ३ गतेदेखि पाँच दिनसम्म सर्भेक्षणमा खटिएको थियो । सर्भेक्षणका क्रममा औलो रोग लागेका बिरामीको अवस्थाबारे जानकारी लिइनाका साथै रोग नियन्त्रणका उपाय बारेमा पाँच गाविसमा रहेका मावि तथा उच्च मावि तहमा अध्ययनरत विद्यार्थीलाई प्रशिक्षणसमेत दिइएको थियो ।

सर्भे टोलीका सदस्य तथा जिल्ला स्वास्थ्य कार्यालय इलामका भेक्टर कन्ट्रोल सुपरभाइजर विमल बरालका अनुसार दानावारी १, ६, ९, महमाई ७, ८, चुलाचुली १, ५, ६, ८ तथा बाँझो ८ मा सर्भेक्षण गरिएको थियो । सन् २०१२ मा विश्व स्वास्थ्य सङ्गठनले पनि इलाममा औलो रोगको सर्भेक्षण गरेको थियो ।

सो क्रममा दानावारी, महमाई र बाँझो गाविस औलोको उच्च जोखिममा रहेको देखाएको थियो । औलो रोगी भेटिएका गाविसमा विशेष कार्यक्रम थाल्न मन्त्रालयको सर्भे टोलीले जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशनसमेत दिएको छ ।

स्वास्थ्यको कार्यालयको तथ्याङ्कअनुसार चुलाचुलीमा दुई जनासहित कन्याम र चिसापानीमा गरी जम्मा चार जना औलो रोगी छन् । औलो रोग एनोफिलिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एउटा सरुवा रोग हो ।