ठगीको आरोपमा पक्राउ

0 8

दोलखा, चैत १२ । बहुबिवाहको मुद्दा मिलाइ दिन्छु भन्दै ठगी गरेको आरोपमा दोलखा भिरकोटका कुमार भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।
दुईवटा छुट्टाछुट्टै बहुविवाहको मुद्दा मिलाइदिन्छु भन्दै ३ लाख रुपैयाँ ठगी गरेको आरोपमा भिरकोट गाविस २ का भुजेललाई प्रहरीले आज पक्राउ गरेको हो । भुजेलले एउटा मुद्दाबाट दुई लाख रुपैयाँ र अर्को मुद्दाबाट एक लाख रुपैयाँ लिएको आरोप प्रहरीले लगाएको छ ।

गत मंसिर २७ गते भिरकोट गाविसका नरहरि विकले र स्थानीय इन्दिरा विकलाई दोस्रो विवाह गरेकोमा नरहरिकी जेठी पत्नीले बुहविवाहसम्बन्धी मुद्दा दायर गरेकी थिइन् । सो मुद्दाका प्रतिवादी नरहरि र इन्दिरासँग मुद्दा मिलाइदिने प्रलोभन दिई भुजेलले दुईलाख रुपैयाँ लिएको प्रहरीले बताएको छ ।

त्यसैगरी दोलखा बाबारेका प्रकाश पाण्डे र संखुवासभाकी अञ्जु खनालबीच भएको बहुविवाहमा पाण्डेकी जेठी पत्नी सत्यरुपा कुँवरले बहुविवाह सम्बन्धी मुद्दा दर्ता गरेकी थिइन् । सो मुद्दा पनि मिलाइदिन्छु भन्दै एक लाख रुपैयाँ ठगी गरेको आरोप प्रहरीको छ । एक लाख २५ हजारमा मुद्दा मिलाइदिन जिम्मा लिएकोमा पाण्डेपक्षले २५ हजार रुपैयाँ दिन बाँकी राखेको र सोही विषयको अनुसन्धानको क्रममा प्रहरीले भजेललाई पक्राउ गरेको हो ।

भुजेललाई दिन बाँकी २५ हजारका लागि उनीहरुबीच भएको मोबाइल वार्ताको आधारमा पक्राउ गरेको बताइएको छ ।
बहुविवाहसम्बन्धी दुबै मुद्दाका प्रतिवादीहरुलाई अदालतले धरौटीमा छाडेको छ ।