इनारमा हाम फाल्दा महिला घाइते

0 6

महोत्तरी, चैत ११ । अरुसँग होली खेलेको भन्दै श्रीमानले कुटेपछि इनारमा हाम फाल्दा एक महिला घाइते भएकी छिन् । बिजलपुरा–९ का कान्छा भनिने घनश्याम महतोले आफ्नी ३० वर्षीया श्रीमती कौशिलादेवी महतोलाई अरुसँग रङ खेलेको भन्दैे कुटपिट गर्दा सहन नसकेर ती महिलाले ६० फिट गहिरो इनारमा हाम फालेकी थिइन् ।

हाथिलेट प्रहरी चौकीका अनुसार घरनजिकै सौदागर पासमानको इनारमा महिलाले हाम फालेकी हुन् । इनारमा खसेकी महिलालाई गाउँलेले डोरीको सहरामार्फत १५ मिनेटभित्रै उद्धार गरेका थिए । हाथिलेट चौकीका प्रहरी नायब निरीक्षक दीपबहादुर बस्नेतसहित घटनास्थल पुगेको प्रहरी टोलीले घाइते महिलालाई बर्दिवासस्थित शुभस्वस्ति अस्पतालमा उपचारका लागि पठाएको छ ।

महिलाको शरीरको अङ्गमा गहिरो चोट देखिन्छ । आफूसँग पहिला होली नखेलेर अरुसँग खेलेको भन्दै मदिरा सेवन गरेका घनश्यामले श्रीमती कुटेका स्थानीय बासिन्दाले बताएका छन् । स्थानीय बिजलपुरा–९ का छठु महतो र विजलपुरा–४ का दिलीप महतोले कौशिलालाई रङ लगाई दिएका थिए । श्रीमती कुट्ने घनश्यामलाई प्रहरी चौकीले नियन्त्रणमा लिएको थियो ।

तर, प्रहरीमाथि दबाब पर्दा उनलाई छाडिएको छ । कौशिलालाई रङ लगाई दिने दिलीप र छठुलाई पनि प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । सोधपुछपछि उनीहरुलाई प्रहरीले छाडेको हो ।