हावाहुरीका कारण १० जना घाइते

0 8

धुन्चे (रसुवा), चैत ११ । बुधबार आएको हावाहुरीका कारण यार्सा गाविसमा १० जना घाइते भएका छन् । यार्सा–७ लाङ्बुका समाजसेवी सेसाङदावा तामाङकाअनुसार हावाहुरीले यार्साको २ र ३ नं बाहेक सबै वडा प्रभावित भएपछि त्यहाँका अधिकांश मानिस सामान्य घाइते भएका हुन् ।

घाइते हुनेमा यार्सा–७ का २५ वर्षे श्यामबहादुर तामाङ, २३ वर्षे दावा तामाङसमेतका १० जना रहेका छन् । उनीहरुको लाङ्बु मिनी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

भूकम्पपछि राहतमा प्राप्त दुई बन्डल जस्ताले बनाएको अस्थायी छाप्रोसमेत उडाउँदा बसोबासमा समस्या परेको समाजसेवी तामाङले जानकारी दिए ।

जिल्ला दैवीप्रकोप उद्धार समितिको बुधबारै बसेको आपत्कालीन बैठकले क्षति विवरण तयार गरी केन्द्रमा राहत माग गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताए ।