बिस्फोटमा ३४ को मृत्यु, नेपाली सुरक्षित

0 14

 

एजेन्सी/ काठमाडौं, चैत १० । बेल्जियमको एयरपोर्ट र सेन्ट्रल मेट्रो स्टेशनमा मंगलबार भएको आतंककारी बम हमलामा परी मर्नेहरुको संख्या ३४ पुगेको छ भने २५० भन्दा बढी घाइते भएका छन् ।  बेल्जियम सरकारले यो घटनापछि तीन दिनको शोक घोषणा गरेको छ । ब्रसेल्सका अधिकारीहरुका अनुसार एयरपोर्टको सिसिटिभी क्यामेरामा देखिएका मध्ये दुई जनाले एयरपोर्ट विष्फोटसँंगै आफैलाई पनि उडाएका छन् भने भने शंकास्पद एक जना फरार रहेका छन् ।

प्रहरीले बम विष्फोटका क्रममा एयरपोर्टमा देखिएका एक जना छाते टोपी लगाएका व्यक्तिको खोजि गरिरहेको छ ।  स्लामिक चरमपन्थी संगठनले यस हमलाको जिम्मेवारी लिएको छ । एयरपोर्टमा रहेको सिसिटिवी क्यामेरामा छाते टोपी लगाएको व्यक्तिले लगेजको ट्राली खिच्दै गरेको देखिएको छ,यस व्यक्तिमाथि प्रहरीले वान्टेड नोटिस जारी गरेको छ । ब्रसेल्समा प्रहरीले खोजी गर्ने क्रममा रासायनिक पदार्थले भरिएको एक विष्फोटक डिभाइस र स्लामिक स्टेटको झण्डा भेटिएको छ ।

यसैबीच, ब्रसेल्स क्षेत्रभित्र बसोबास गर्दै आएको करिव ५ सय नेपाली सुरक्षित रहेको नेपाली दूतावासले जानकारी दिएको छ । घटनास्थल वरिपरि नेपालीहरु बसोवास गरेता पनि घटनामा हताहत भएको हालसम्म कुनै जानकारी प्राप्त नभएको नेपाली दूतावास बेल्जियमका उपप्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।

गैरआवासिय नेपाली एनआरएनले घटनाबाट स्तब्ध भएको उल्लेख गर्दै नेपालीहरुलाई सहयोगको लागि सम्पर्कमा रहन भनेको छ । एनआरएन अध्यक्ष गंगाधर गौतमले आफुलाई पनि नेपाली हताहत भएको अहिलेसम्म जानकारी नआएको बताउँदै सहयोग गर्नु परे तुरुन्त तयार रहेको जानकारी गराए ।