अंगिकृत नागरिकता लिनेको संख्या बढ्दो

0 11

रौतहटमा ८९ भारतीयले लिए अङ्गीकृत नागरिकता

Citizenship

रौतहट, चैत ९ । नयाँ संविधानको खुकुलो प्रावधानको अवसर प्रयोग गदै ८९ भारतीय महिलाले वैवाहिक अङ्गीकृत नेपाली नागरिकता लिएका छन् । जिल्ला प्रशासन रौतहटको नागरिकता फाँटका शाखा अधिकृत मुरारी कार्कीका अनुसार जिल्लाको विभिन्न गाविस तथा नगरपालिका क्षेत्रमा बसोबास गर्ने नेपाली युवासँग विवाह गरेका ती भारतीय महिलाले विधिवत नागरिकता लिएका हुन् ।

 

कार्कीका अनुसार नयाँ संविधान जारी भएपछिको छ महिना अवधिमा वैवाहिक अङ्गीकृत नागरिकता लिने भारतीय महिलाको सङ्ख्यामा उल्लेख्य मात्रामा वृद्धि भएको छ ।

असोजमा पाँच, कात्तिकमा तीन, मङ्सिरमा आठ, पुसमा ११ , माघमा २१ र फागुनमा ४२ समेत गरी ८९ भारतीय महिलाले अङ्गीकृत नागरिकता लिएका छन् ।

पतिको नागरिकता, विवाह दर्ता, हुलाक रजिस्ट्रर गरेको रसिद र भारतीय नागरिकता परित्याग गरेको प्रमाण लिएर आएमा महिलाले वैवाहिक अङ्गीकृत नागरिकता पाउन सक्ने संवैधानिक प्रावधान छ ।