घाम नअस्ताउने देशका राजकुमारले गरे सूर्य दर्शन

0 6

Sun-rise

लेउरानी लम्जुङ०,चैत ९ ।  कुनैबेला कहिल्यै घाम नअस्ताउने देश भनि चिनाइएको बेलायतका राजकुमारले लम्जुङको उच्च पहाडी गाउँबाट सूर्योदयको दर्शन  र प्राकृतिक रुपमा मनोरम हिमाली दृश्य अवलोकन गरी आनन्द लिए ।

अघि बिहानै सूर्योदयलगायतका मनोरम हिमाली दृश्यलाई निजी मोबाइलमा कैद गर्न भ्याए। अन्नपूर्ण दोस्रो, माछापुच्छ«े, लम्जुङ, मनास्लु, हिमचुली र एलएचल्हो हिमाल र सूर्योदयका दृश्यलाई ह्यारीले अभिरुचीपूर्वक नियाले।

बेलायती राजकुमार ह्यारीले नेपाली परम्पराअनुसार आज यहाँ फागु खेल्ने कार्यक्रम छ भने त्यसपछि उनी एक घन्टा पदयात्रामा जानेछन् ।

नेपालको औपचारिक पाँच दिने भ्रमणमा चैत ६ मा काठमाडौँ ओर्लिएका ह्यारी सोमबार बर्दिया हुँदै लम्जुङको गौँडा गाविसस्थित लेउरानीमा बास बसेका थिए ।

उनले दोस्रो विश्वयुद्धमा गोर्खा सैनिकका तर्फबाट सो गाउँबाट सहभागी स्व गन्धुराम तामाङको घरमा बसीे उनकी श्रीमती मङ्गली तामाङसँग बेलुकाको खाना खाएका थिए।

सोमबार बेलुकाको असिना पानीले एक्कासि चिसो बनेको वातावरणमा ह्यारी बिहानै ५ बजे उठी हिमाली दृश्यको अवलोकन गर्न तयार भैसकेका थिए।