ओलीले आज महत्वपूर्ण राजनीतिक भेटघाट गर्दै

0 5

काठमाडौं, चैत ८ । साताव्यापी औपचारिक भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज महत्वपूर्ण राजनीतिक भेटघाट गर्दैछन् । प्रधानमन्त्री ओलीले आज चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेटघाट गर्नेछन् भने आफ्ना चिनियाँ समकक्षी ली खछ्याङसँग पनि भेट्ने कार्यक्रम छ ।

आजै ग्रेट हल अफ दि पिपुलमा नेपाल–चीन वार्ता हुने र केही महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम पनि छ । प्रधानमन्त्री ओली चिनियाँ प्रधानमन्त्री लि खछयाङको निमन्त्रणामा आइतबार चीनको राजधानी बेइजिङतर्फ गएका हुन् । चैत १४ गतेसम्म हुने भ्रमणका क्रममा उनले चीनका विभिन्न शहरको भ्रमण र भेटघाट गर्नेछन् ।

प्रधानमन्त्री राजधानी बेइजिङस्थित डिआओयुताइ स्टेट गेष्ट हाउसमा रहेका छन् । प्रधानमन्त्री ओलीलाई बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विदेश मन्त्रालयका उपमन्त्री लीउ जेन मिन, चीनका लागि नेपाली राजदूत डा. महेश मास्के, परराष्ट्र मन्त्रालय तथा दूतावासका उच्चपदस्थ अधिकारीले स्वागत गरेका थिए ।

त्यसअघि आइतबार बिहान ११ बजे काठमाडौंबाट चीनका लागि प्रस्थान गर्नुभएका प्रधानमन्त्री ओली पाँच घण्टाको उडानपछि बेइजिङ पुगेका हुन् । प्रधानमन्त्री ओलीलगायतको नेपाली भ्रमण टोली हिमालय एअरलाइन्सको विमानबाट निःशुल्क यात्रामा बेइजिङ पुगेका हुन् ।

प्रधानमन्त्रीका साथ उनकी धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, वाणिज्यमन्त्री दीपक बोहरा, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, सांसद, व्यापारिक समुदाय, सञ्चारकर्मीलगायत एक सय जनाको टोली छ ।