पाटनमा रमाए राजकुमार

0 5

Prince

पाटन,चैत ७ । बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ह्यारी आइतबार ललितपुरको पाटन दरबार क्षेत्रको भ्रमणमा रमाएका छन ।
भुकम्पबाट क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रको अवलोकनका लागि अपरान्ह साढे १२ बजे कडा सुरक्षा घेराबीच लयान्डरोभर गाडीमा पाटन पुगेका बेलायती राजकुमार ह्यारी करिब दुई घण्टा दरबार क्षेत्रमा रहेका मन्दिर र स्मारकहरुको अवलोकन र स्थानीयवासीहरुसँगको साक्षात्कारमा रमाए ।

हाकुपटासीमा सजिएका स्थानीय युवतीहरुले माला र खादा लगाएर स्वागत गरेसँगै बेलायती राजकुमार ह्यारीले दरबार क्षेत्रमा रहेका मूलचोक, सुन्दरीचोक, भण्डारखाल बगैंचा, राधाककृष्ण मन्दिर, हरिशंकर मन्दिर चारनारायण मन्दिर, भिमसेन मन्दिर, तलेजु मन्दिर, कृष्ण मन्दिर लगायतको अवलोकन गरे ।

अवलोकनका क्रममा उनले ती ऐतिहासिक मन्दिर तथा मूलचोक, सुन्दरीचोक र भण्डारखाल बगैंचामा रहेका १९ वटा स्मारकहरुको ऐतिहासिक पक्षका बारेमा अचिरुचीपूर्वक जानकारी लिए । दरबार क्षेत्रको अवलोकनका क्रममा निकै अनौपचारिक रुपमा प्रस्तुत भएका राजकुमार ह्यारीले हाइ ह्यारी भन्ने युवायुवतीहरुसँग सकेसम्म हात मिलाउने प्रयास गरे । उनी स्थानीय वृद्धहरुसँग हात मिलाउन आफैं अग्रसर भए । उनले स्थानीयवासीहरुसँग हार्दिकतापूर्वक कुराकानी समेत गरे ।
राजकुमार ह्यारी भण्डारखाल बगैंचा वरिपरि काम गरिरहेका कालिगढको काम देखेर केहीबेर आफैं पनि कालिगढको रुपमा प्रस्तुत भए । उनले नेपाली कालिगढहरुले तयार पारेका सामग्रीलाई तस्विरमा मात्र देख्दै आएकामा कालिगढहरुलाई आफ्नै आँखा सामु देख्न पाएर आफू निकै खुशी भएको बताए ।
कलाकौशलका दृष्टिले पाटन दरबार क्षेत्र विश्वप्रसिद्ध मानिन्छ । युनेस्कोले पाटन दरबार क्षेत्रलाई ३७ वर्ष पहिले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको हो । ह्यारीका पिता चाल्र्सले समेत ३३ वर्ष पहिले पाटन दरबार क्षेत्रको अवलोकन गरेका थिए ।