वीर अस्पतालमा एमआरआइ सुरु

0 4

 

काठमाडौं, चैत ५ । वीर अस्पतालले एमआरआइ सेवा सुरु गरेको छ । आठ करोड ६१ लाख रुपैयाँको लगानीमा अस्पतालले शुक्रबारदेखि एमआरआइ सेवा सुरु गरेको हो । एमआरआइ सेवा सुरु गर्ने वीर पहिलो सरकारी अस्पताल हो ।

पेट, छाती, टाउको, हाड तथा नसासँग सम्बन्धित रोगको उपचारमा एमआरइ सेवाले ठूलो सहयोग पुग्छ । एमआरआइबाट रोग पत्ता लगाइ उपचारमा सहयोग पुग्ने चिकित्सकहरुको भनाइ छ । वीर अस्पतालले एमआरआइ मेसिन नराख्दा अस्पतालमा आउने विरामीहरु एमआरआइका लागि निजी अस्पताल र क्लिनिकमा धाउन वाध्य थिए ।

निजी अस्पताल र क्लिनिकहरुले एमआरआइको शुल्क १२ हजार रुपैयाँभन्दा बढी लिंदै आएका छन् । वीर अस्पतालले भने आफूकहाँ आउने विरामीहरुले निजी अस्पतालको भन्दा आधा कम मूल्यमा एमआरआइको सेवा पाउने बताएको छ ।

वीरले जडान गरेको एमआरआइ मेसिन फिलिप्स कम्पनीको हो । वीर अस्पतालका चिकित्सक डा. भुपेन्द्र थापाले अस्पतालले जडान गरेको एमआरआइ मेसिन निजी अस्पतालले जडान गरेका मेसिनभन्दा उच्च गुणस्तरको भएको भन्दै विरामीहरुले अब गुणस्तरीय सेवा सस्तो मूल्यमा पाउने जानकारी दिए ।