निजीलाई पेट्रोलियम पदार्थ आयातको अनुमति रद्द

0 10

काठमाडौं, चैत ५ । सरकारले निजी कम्पनीहरुलाई दिएको पेट्रोलियम पदार्थ आयातको अनुमति रद्द गरेको छ । मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम आयात गर्ने अधिकार नेपाल आयल निगमलाई मात्र रहने गरी अन्य कम्पनीको अनुमति रद्द गरेको हो । बैठकपछि सूचना तथा सञ्चारमन्त्री शेरधन राईले आयल निगमबाहेक अन्य कुनैपनि कम्पनीले पेट्रोलियम पदार्थ आयात र बिक्री गर्न नपाउने निर्णय भएको जानकारी दिए ।

यसअघि ३६ वटा कम्पनीलाई पेट्रोलियम आयात तथा बिक्रीका लागि अनुमति दिइएको थियो । यसअघि व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिले विराट पेट्रोलियमलाई इन्धन बिक्री बन्द गर्न निर्देशन दिएको थियो । नेपाल आयल निगमले प्रतिलिटर रु ९९ मा पेट्रोल बिक्री गर्दै आए पनि ‘युरो ४’ मापदण्डको पेट्रोल भन्दै विराटले रु १३३ मा बिक्री गरेको थियो । गत कात्तिक २ गते राजपत्रमा सूचना प्रकाशन गरी सरकारले विराट लगायत तीन दर्जनभन्दा भन्दा बढी निजी व्यापारिक संस्थालाई इन्धन आयात र बिक्री गर्न इजाजत दिएको थियो ।

भारतीय नाकाबन्दीका कारण देशभर पेट्रोलियम पदार्थको हाहाकार भएपछि सरकारले निजी कम्पनीहरुलाई पेट्रोल आयात गरेर बिक्री गर्ने अनुमति दिएको थियो । त्यस्तै बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मित्र राष्ट्र चीनको आसन्न भ्रमणलाई उपलब्धिमूलक बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले भ्रमण फलदायी बनाउन थप गृहकार्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता राईले जानकारी दिए । प्रधानमन्त्री ओली यही चैत ७–१४ गते चीन भ्रमणमा जाने भएका छन् ।

सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ एक्जिम बैङ्क मार्फत नेपालले प्राप्त गर्ने २२ अर्ब ७४ करोड ९२ लाख १० हजार ऋण स्वीकार गर्ने निर्णय गरेको छ । चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई सहयोगस्वरुप दिएको करिब ४९ करोड पचास लाख अनुदान पनि स्वीकार गर्ने निर्णय भएको पनि सूचना तथा सञ्चारमन्त्री राईले बताए । कर्णाली अञ्चलका पाँचै जिल्ला र सेतीको बाजुरा जिल्लामा देखिएको खाद्यान्न सङ्कट समाधान गर्नका लागि ती स्थानमा अविलम्ब खाद्यान्न पु¥याउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ ।