आगलागीबाट वन्यजन्तु जोगाउन ‘काउन्टर फायर’ अभियान सुरु

0 3

चितवन, चैत ५ । विश्व संरक्षण सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जले आगलागीबाट वन्यजन्तु जोगाउन ‘काउन्टर फायर’ सहितको आगलागी नियन्त्रण अभियान सुरु गरेको छ । आगलागीको मौसम सुरु भएकाले वन्यजन्तुको सुरक्षालाई ध्यान दिँदै यस्तो अभियान थालिएको निकुञ्जले जनाएको छ ।

चितवन निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले मुख्य गरी निकुञ्जभित्र ‘काउन्टर फायर’का लागि प्राविधिज्ञ कर्मचारीलाई तयारी अवस्थामा राखिएको बताए । कुनै क्षेत्रमा भीषण आगलागी भइरहेको छ र त्यो आगलागी नियन्त्रण गर्ने अवस्थामै छैन भने विपरीत दिशाबाट आगो लगाएर नियन्त्रण गर्ने पद्धतिलाई काउन्टर फायर भनिन्छ ।

संरक्षित क्षेत्र भएकाले विपरीत क्षेत्रबाट आगो लगाउँदा सीमित क्षेत्रबाट आगो नियन्त्रण हुने भएकाले यो पद्धति निकुञ्जका लागि उपयुक्त भएको अर्याल बताउँछन् । ‘निकुञ्जभित्र काठका मचान छन्, ती मचाननजिकै नियन्त्रण गर्न नसकिने आगो लागेको छ भने मचान छेउबाट नियन्त्रणमुखी आगलागी गराउँदा मचान जोगिने र आगो पनि नियन्त्रणमा आउने हुन्छ, नत्र मचान नै जल्न सक्छ,’ अर्यालले भने । संरक्षित जङ्गली जनावरको सुरक्षाका लागि निकुञ्जले अहिले आगलागी नियन्त्रणमा चनाखो हुन कर्मचारी, सेना तथा मध्यवर्तीका स्थानीयवासीलाई आग्रह गरेको छ ।

चितवन निकुञ्जका बाघ, गैँडा, हात्ती, भालु, जरायो, चित्तल जस्ता संरक्षित जनावर मध्यवर्ती वनमा समेत आवतजावत गर्ने गरेका छन् । त्यसैले मध्यवर्तीका बासिन्दालाई आगलागी नियन्त्रणका उपायका बारेमा समेत सचेतना दिइएको छ । चितवन निकुञ्जमा ६०५ वटा गैँडा मात्रै छन् । यहाँ १२० भन्दा बढी बाघ छन् । गौँरी गाईको उपस्थिति पनि राम्रो छ । चराचुरुङ्गीको समेत राम्रो बासस्थान भएकाले यो क्षेत्र अति संवेदनशील मानिन्छ ।