किर्ते दस्तखत तथा जाली नोट पहिचानसम्वन्धी तालिम

0 4

 

काठमाडौं, चैत ५ । तालिम तथा अनुसन्धान सहकारी संस्थाले सबैखाले सहकारीकर्मीलाई लक्षित गरी दस्तखत पहिचान तथा जाली नोट पहिचान विधिसम्वन्धी तालिम सञ्चालन गर्ने तयारी गरेको छ । तालिमपछि दक्ष जनशक्तिको अभावमा ठूलो चुनौतीकारुपमा रहेको किर्ते कागजात र नक्कली नोटको कारोवारमा अब केही सहजता हुने भएको छ । तालिम चैत ६ गते शनिवार काठमाडौंमा हुनेछ ।

तालिमले जाली नोट कसरी पहिचान गर्ने, त्यसको व्यवस्थापन गर्ने कानुनी व्यवस्था कस्तो छ भन्ने विषययमा सहकारीकर्मीलाई जानकारी दिनेछ । जोखिम न्युनिकरणका लागि कर्मचारीको क्षमता अभिवृद्धि, दस्तखत नमूना र त्यसको प्रयोगसम्वन्धी व्यवहारिक ज्ञान दिने तथा सुरक्षित र भरपर्दो आर्थिक कारोवार कसरी गर्ने भन्ने जस्ता सचेतनात्मक विषयमा पनि सहभागीहरुलाई पोख्त बनाउने तालिमको उद्देश्य रहेको आयोजक संस्थाका सचिव कुवेर निरौलाले जानकारी दिएका छन् ।

सहभागिलाई सम्वन्धित विषयका विज्ञहरु, विधी विज्ञान प्रयोगशालाका विज्ञहरु तथा नेपाल राष्ट्र वैंकका विज्ञहरुले तालिम दिनेछन् ।
दक्ष जनशक्ती र भरपर्दो कार्य सञ्चालन विधिका अभावमा धेरै सहकारीहरु अलमलमा परिरहेको अहिलेको अवस्थामा तालिमले त्यस्ता सहकारीकर्मीलाई स्पष्ट दिशानिर्देश गर्ने अपेक्षा गरिएको सचिव निरौलाको भनाई छ । तालिमले दस्तखत र दस्तखत नमूना संकलन विधी, दस्तखत परिक्षण गर्दा अपनाउनुपर्ने सावधानीहरु, किर्ते वा चोरिएको दस्तखत परिक्षण गर्ने विधि, लेखपढ गर्न नजान्ने व्यक्तिको ल्याप्चे संकलन विधिका विषयमा पनि जानकारी दिनेछ ।

उक्त एक दिने तालिम बचत तथा ऋणको कारोवार गर्ने सहकारी संस्थाका व्यवस्थापक, लेखा अधिकृत, क्यासियर, फ्रन्ट डेस्क अफिसर, क्यास तथा ऋणको क्षेत्रमा काम गर्ने व्यक्तिका लागि उपयोगी हुने आयोजक संस्थाको भनाई छ । तालिममा सहभागी हुन चाहने सहकारी संस्थाका प्रतिनिधिहरुले इमेलबाट पनि फर्म भर्न र आवेदन दिन सक्नेछन् ।