आगामी शिखर सम्मेलन नोभेम्बर ९ र १० मा

0 8

पोखरा, चैत ५ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को ३७ औँ मन्त्रिपरिषद् बैठकले आगामी शिखर सम्मेलन सन् २०१६ नोभेम्बर ९ र १० (विसं २०७३ कात्तिक २४–२५ गते) पाकिस्तानको राजधानी इस्लामावादमा गर्ने निर्णय गरेको छ । बैठकले भारतको राजधानी नयाँ दिल्लीमा ‘सार्क वातावरणीय विपत्ति व्यवस्थापन केन्द्र’स्थापना गर्ने निर्णय गरेको छ ।

सार्क मन्त्रिपरिषद् बैठक समेतको अध्यक्षता गरेका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले बैठकमा अघिल्ला सम्मेलनले गरेका निर्णयको कार्यान्वयन र आगामी सार्क सम्मेलनअघि गर्ने कामलगायत विषयमा छलफल भई केही महत्वपूर्ण निर्णय गरिएको जानकारी दिए । ‘सार्क सम्मेलनको निरन्तरताका लागि विगतको तितो पाठ सिक्दै अबदेखि प्रत्येक दुई वर्षको नोभेम्बरमा सार्क शिखर सम्मेलन गरिने निर्णय गरिएको छ र त्यसको अन्तिम अनुमोदन आगामी शिखर सम्मेलनले गर्नेछ,’ उनले भने ।

पाकिस्तानले सार्क महासचिव अर्जुनबहादुर थापाको पदावधि सकिएपछि जिम्मेवारी बहन गर्ने महासचिवको नाम प्रस्ताव गरेको बताउँदै उनले त्यसको आगामी सम्मेलनमा अनुमोदन गरिने जानकारी दिए । सार्कको प्रभावकारी भूमिकाका सम्बन्धमा सबै राष्ट्रको चासो व्यक्त भएको बताउँदै उनले सार्क स्थापनाको लक्ष्य तथा उद्देश्यलाई हासिल गर्ने कुरा पनि बैठकमा गम्भीरताका साथ प्रस्तुत गरिएको जनाए ।

मन्त्री थापाले भने, ‘छरिएका योजना र कार्यक्रमलाई एकीकृत गरी यस क्षेत्रका जनताको आर्थिक विकासका लागि सार्कलाई अघि बढाउने कुरालाई सबै सदस्य राष्ट्रबाट प्राथमिकताका साथ उठाइएको छ ।’ सार्क मन्त्रिपरिषद्को बैठक पोखरामा बस्दा पोखरेली जनताले देखाएको सक्रियता र विशिष्ट पाहुनालाई गरेको उच्च सम्मान अत्यन्त प्रशंसनीय भएको बताउँदै थापाले सहभागी सार्क राष्ट्रका विशिष्ट पाहुनाले पर्यटकीय नगरीमा गरिएको सम्मेलनप्रति खुसी व्यक्त गरेको उल्लेख गरे ।

सार्क मन्त्रिपरिषद् बैठकको कार्यक्रम अन्तर्गत चैत १ र २ गते कार्यक्रम समितिको बैठक, ३ गते स्थायी समितिको बैठक र बिहीबार मन्त्रिपरिषद्को बैठक बसेको हो । बैठकको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । बैठकको उद्घाटनअघि परम्परागत वेशभूषामा परम्परागत पञ्चैबाजाका साथ सहभागी राष्ट्रका विशिष्ट अतिथिको स्वागत गरिएको थियो । प्रभावकारी सुरक्षा व्यवस्थाका बीच आयोजित बैठकको समाचार सङ्कलनका लागि स्वदेशी तथा विदेशी सञ्चारमाध्यमको पनि उल्लेख्य उपस्थिति थियो ।