जुनकिरी घुम्ती थिएटर शुरु गर्दै मण्डला

0 19

काठमाडौं । परम्परागत रुपमा रंगमञ्चहरु स्थायी र केन्द्रिकृत हुन्छन् । दर्शकहरु नाटकघरसम्म आँउछन्, टिकट किन्छन् र नाटक हेर्छन् । पछिल्लो समयमा नाटक मञ्चनमा अग्रणी रहँदै आएको मण्डला थिएटरले अब दर्शकमाझ पुगेर नाटक देखाउने भएको छ । त्यसका लागि थिएटरले घुम्ती थिएटर ‘जुनकिरी’ शुरु गर्न लागेको छ ।

मण्डलका अनुसार बसमा देखाइने यो थिएटरमा नाटकमा चाहिने सबै आधारभूत सामग्री तथा उपकरणहरु हुनेछन् । ‘बन्द गरेर बाहिरबाट हेरिँदा जुनकिरी एउटा बस देखिनेछ, बन्दै अवस्थामा भित्रबाट हेरिँदा साना र प्रयोगात्मक नाटक गर्न मिल्ने चिटिक्कको नाटकघर हुनेछ भने खुल्दा यो नाटक तथा अन्य कलात्मक गतिविधिहरु गर्न मिल्ने एउटा खुला रंगमञ्च बन्नेछ ।’ मण्डलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यो रंगमञ्च बनाउन मण्डलालाई जिआईजेडको कार्यक्रम सिभिल पिस सर्भिसले सहयोग गरेको छ । मण्डलाका निर्देशक राजन खतिवडा र रोबोटिस्ट इन्जिनियर अनिल कार्कीको परिकल्पनामा आधारित भएर वायु विमान इन्जिनियरहरुको समूह एडेन इन्जिनियरिङ्गले यसको संरचना निर्माण गरेको हो ।

२०६६ सालमा पहिलोपटक घुम्ती थिएटर सञ्चालन गरेको मण्डलाले रंगमञ्चलाई चलायमान र गतिशील स्वरुपमा विभिन्न स्थानहरुमा लिएर लैजान अभियान चलाएको जनाएको छ । त्यो बेला मण्डलाले काठमाडौंमै तयार पारिएको तीन नाटकहरुलाई देशका अन्य १० शहरहरुमा लगेर मञ्चन गरेको थियो ।

२०६८ मा गरिएको घुम्ती रंगमञ्चको दोश्रो संस्करण नेपालका ३० स्थानहरुमा सञ्चालन गरिएको थियो । मण्डलाको आयोजनामा जनकपुरको मिथिला नाट्यकला परिषद्सँग मिलेर गरिएको यो पटकको घुम्ती रंगमञ्च भने बन्द नाटकघरमा सीमित नभएर खुला स्थानमा समेत मञ्च बनाएर ‘सौन्दर्यसहितको नाटक’गर्न सकिने किसिमको थियो ।

२०७२ मा गर्न लागिएको यसपटकको घुम्ती रंगमञ्च कार्यक्रम भने केन्द्रमै रहेर पनि नाटकघरसम्म आउन नसक्ने अथवा थाहा नभएका तर कलामा चाख भएका समुदायहरुका लागि लक्षित गरिएको छ ।

जुनकिरीमा लियो लियोनीको बाल किताब फ्रेडेरिकमा आधारित नाटक ‘मनचिन्ते फिरन्ते’ मञ्चन गरिनेछ । विप्लव प्रतिक र सोमनाथ खनालले रुपान्तरण गरेको नाटकको परिकल्पना .र निर्देशन राजन खतिवडाले गरेका छन् । नाटकमा आशान्तशर्मा, सिर्जना सुब्बा, बिजय बराल, सारदा अधिकारी, शक्ति राई, प्रेमवर्षा खड्का, सन्देश लामिछाने, लक्ष्मी बर्देवा, दिलजंगगुरुङ्ग र सन्दिप श्रेष्ठको अभिनय रहनेछ ।