मन्त्रीहरुको आफूखुशी नियन्त्रण गर्न माग

0 4

Khatiwada

काठमाडौं, चैत ४ ।  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले मन्त्रीहरुले आफुखुशी विकास निर्माणका आयोजनालाई प्राथमिकीकरण गर्ने प्रवृत्ति रोक्नका लागि निर्देशन दिन व्यवस्थापिका संसद्को अर्थ समितिसँग माग गरेका छन् ।

समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा योजना आयोगका उपाध्यक्ष डा. खतिवडाले मन्त्रीहरुले आयोजनाहरुलाई आफुखुशी प्राथमिकीकरण गर्दा बजेटको बाँडफाँट र आयोजनाको कार्यान्वयनमा नै असर परेको भन्दै विना आधार प्राथमिकीकरण गर्ने क्रम रोक्नका लागि निर्देशन दिन माग गरका हुन् । खतिवडाले आयोजनाको जथाभावी प्राथमिकीकरण गर्ने क्रम रोक्नका लागि जिल्ला जिल्लाबाट धेरै दवाव आएको सुनाउदै आयोजनाहरुको मापदण्ड बनाउने काममा सहयोग गर्न सांसद्हरुको ध्यानाकर्षण गरे ।

बैठकमा समितिका सदस्यहरुले विकास निर्माणका कामले गति नलिएकामा सरकारी संयन्त्रको आलोचना गरे । उनीहरुले ढुकुटीमा पर्याप्त रकम भएपनि सरकारी संयन्त्रहरुबीच समन्वयको अभावमा विकास निर्माणका काम निकै सुस्त भएको भन्दै असन्तुष्टि पोखे । उनीहरुले सरकारी कर्मचारीहरुमा सकेसम्म अर्कोमाथि दोष देखाएर पन्छिने प्रवृत्ति रहेको र त्यसको परिणाम पूँजीगत बजेट त्यतिकै थन्किइरहेको बताए ।

समितिले पूँजीगत बजेट खर्च नभएको सम्बन्धमा विकास निर्माणसँग सम्बन्धित मन्त्रालयका मन्त्री रु सचिवहरुलाई बोलाएर छलफल गर्ने निर्णय गरेको छ । समितिले आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा पूर्व बजेट छलफलका लागि पाँच वटा टोली बनाएर ताप्लेजुङ, झापा, सिन्धुपाल्चोक, दोलखा, कास्की, कैलाली, दार्चुला लगायतका विभिन्न ९ वटा जिल्लाहरुको स्थलगत भ्रमणमा जाने निर्णय पनि गरेको छ ।