मुस्ताङवासीको सबैभन्दा बढी प्राथमिकता सडक

0 6

मुस्ताङ, चैत ४ । हिमाली जिल्ला मुस्ताङवासीले सबैभन्दा बढी सडकको माग गरेका छन् । मुस्ताङको जिल्ला परिषद् बैठकमा २२ वटा सडक आयोजना निर्माणका लागि माग गरिएको थियो । ति सडक निर्माणका लागि जिल्ला परिषद्ले पाँच करोड ९९ हजार रुपैयाँको बजेट प्रस्तावसमेत गरेको छ ।

१६ गाविस रहेको जिल्लाका सबै गाविस कार्यालयसम्म सडक सञ्जालको पहुँच विस्तार भएपनि मर्मतसम्भार र कालोपत्रका लागि उक्त सङ्ख्यामा सडक आयोजनाको माग भएको हो । जिल्लामा प्राप्त सडक योजनालाई विभिन्न कार्यक्रमअन्तर्गत समावेश गरेर सम्बोधन गर्ने प्रयास गरिएको स्थानीय विकास अधिकारी हरिप्रसाद बाँस्तोलाले जानकारी दिए ।

उनकाअनुसार ग्रामीण पुनर्निर्माण तथा पुनस्र्थापना कार्यक्रमअन्तर्गत ५, स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रममा ८ र सडक बोर्डमार्फत ८ वटा सडक मर्मतसम्भार र विस्तारको कार्य हुनेछ । जिल्लाको गौरवकारुपमा मनाङ जिल्ला जोड्ने सडकलाईसमेत प्राथामिकताकासाथ बजेट विनियोजन गरिएको छ ।

उक्त सडकका लागि ८० लाख रुपैयाँ विनियोजन गरिएको जिविसले जनाएको छ । सबैभन्दा बढी ग्रामीण पुनर्निर्माण तथा पुनस्र्थापना कार्यक्रममा रु तीन करोड ४९ लाख, सडक बोर्डअन्तर्गत रु २८ लाख र स्थानीय यातायात पूर्वाधारमा रु ७५ लाख बजेट माग गरिएको छ ।

जिल्लामा पर्ने कालीगण्डकी करिडोरअन्तर्गत जोमसोम–कोरला सडकखण्डको क्षेत्रमा पनि सडक विभागले आफैले लगानी गरेर काम गर्न अर्थ मन्त्रालयमा बजेट माग गरिसकेको छ । कोरला नाका सञ्चालनका लागि सडकको स्तरोन्नति पहिलो प्राथामिकता भएकाले सडक विभागले उक्त खण्डलाई प्राथामिकतामा राखेको स्थानीय विकास अधिकारी बाँस्तोलाले बताए ।