पर्शुरामबाट उदाउँदै विराज भट्ट

0 10

Biraj

काठमाडौं । नेपालमै राम्रो करियर हुँदाहुँदै भोजपुरी फिल्म तिर लागेर उतैको स्टार बनेका नायक विराज भट्ट झण्डै पाँच वर्ष पछि फिल्म ‘पर्शुराम’मार्फत नेपाली रजतपटमा उदाउने भएका छन् । अभिनय र फिल्म निर्माणमा नाम कमाएका निर्माता रोज राणाको डेब्यु निर्देशनमा बन्न लागेको फिल्ममा विराज एक्सन अवतारमा प्रस्तुत हुन लागेका हुन् । रोजले निर्माण गरेका ६ वटा फिल्ममध्ये चारवटा फिल्ममा विराज नै नायक थिए ।

राजधानीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा निर्देशक रोजले विराजसँग नायिका निशा अधिकारीले रोमान्स गर्ने जानकारी दिए । निर्देशक रोजले आफूले बनाएका फिल्म र अभिनय गरेका फिल्मलाई दर्शकले मनपराइसकेकाले आफ्नो निर्देशनको फिल्मलाई पनि उस्तै गरी माया गर्ने दाबी गरे । अभिनेता भट्टले रोजसँग चार फिल्ममा गरेको सहकार्यलाई नयाँ फिल्ममा अझ सशक्त रूपले प्रस्तुत गर्ने बताए । नायिका अधिकारीले लामो समयपछि विराजसँग काम गर्न पाउँदा खुशी लागेको बताइन् ।

फिल्म ‘नैना रेशम’ पछि विराज र निशाले दोस्रोपटक यो फिल्ममा रोमान्स गर्न लागेका हुन् । यी दुईवाहेक देशभक्त खनाल, रविन तामाङ, ध्रुव कोइराला, सुन्दर श्रेष्ठको अभिनय रहनेछ । रविनलाई खलपात्रको रूपमा देख्न पाइने फिल्ममा घोडाले पनि अभिनय गर्नेछ ।

सोफिया सिने आर्टसको व्यानरमा निर्माण हुने फिल्ममा मिलन श्रेष्ठको लगानी रहनेछ । फिल्ममा मौनता श्रेष्ठको लेखन, महेश खड्काको संगीत, वसन्त श्रेष्ठ र रामजी लामिछानेको नृत्य, एनवी महर्जनको द्वन्द्व र रामेश्वर कार्कीको छायांकन रहनेछ । प्यूठान र दाङलगायत जिल्लामा छायांकन हुने फिल्म चैत १ गतेबाट फ्लोरमा जाँदैछ ।