अशक्त युवालाई ल्यापटप उपहार

0 5

भक्तपुर, चैत १ । शारीरिक असक्तताका कारण एसएलसी परीक्षा उतिर्ण गरेको २ वर्षसम्म आफ्नो पढाईलाई अगाडि बढाउन नसकेका महोत्तरी सहोरवा– ७ हर्दियाका २० वर्षीय युवा विश्वजित झालाई एउटा ल्यापटप उपहार दिइएको छ । हाल सानोठिमी बस्दै आएका शारीरिक अपांगता भएका उनले कम्प्युटरको आधारभूत तालिम लिइसकेका छन् ।

शारीरिक अशक्तताका कारण एसएलसी परीक्षा उतिर्ण गरेतापनि कलेज पढ्न नसकेका ति युवालाई टिम नेपालका संस्थापक अध्यक्ष एवं युवा समाजसेवी प्रदिप बज्राचार्य र अर्का समाजसेवी लोकनाथ बाँस्तोलाले करिब ३५ हजार मुल्यबराबरको नयाँ ल्यापटप उपहार दिएका हुन् ।
एसओएस वालग्राम सानोठिमीका आयोजना निर्देशक खगेन्द्रकुमार नेपाल र पत्रकार बलराम प्यासीको पहलमा प्राप्त सो ल्यापटप एसओएस वालग्राम सानोठिमीमा झालाई प्रदान गरिएको थियो ।

ल्यापटप उपहार पाएपछि आफुले जीवनकै सबैभन्दा ठूलो कुरा पाएको र यसको सहयोगमा घरमै बसेर उच्च शिक्षा हासिल गर्नसक्ने झाले बताए । विगतमा आफुलाई अपांगता भएकै कारण सबैले हेला गरेकोमा गुनासो गर्दै ल्यापटपको सहयोगमा आफुले केही गरेर देखाउने बताए । उनका बाबु चन्द्रभुषण झाका अनुसार दुबै खुट्टाले काम गर्न नसक्ने उनलाई भारतको राजस्थानमा रहेको नारायणसेवा आश्रमले उपचारकासाथै एउटा ह्वीलचियर प्रदान गरेको छ । जसको सहयोगमा उनी हिँडडुल गर्नसक्छन् ।