शनिवारसम्म ड्रिम्सको ग्रस ६ करोड

0 4

anmol

काठमाडौं । अभिनेता, निर्माता हुँदै फिल्म निर्देशक बनेका सदाबहार अभिनेता भुवन केसीले पहिलोपटक निर्देशन गरेको फिल्म ‘ड्रिम्स’ले प्रदर्शनको दोस्रो सातामा आईपुग्दा ६ करोड ग्रस कलेक्सन गरेको छ ।

गत फागुन २१ गतेबाट प्रदर्शनमा आएको भुवन पुत्र अनमोल केसी अभिनित फिल्मले दुई सातामा उक्त रकम कलेक्सन गरेको हो । फिल्म युनिटले शनिवार बेलुका राजधानीमा आयोजना गरेको सक्सेस पार्टीमा निर्देशक भुवनले अल नेपाल उक्त रकम संकलन भएको जनाए ।

‘यो सफलता सम्पूर्ण फिल्म उद्योगको सफलता हो, मेरो पहिलो फिल्म नै दर्शकले ति राम्ररी मनपराइदिनु भएपछि मलाई अझ उत्साह थपिएको छ,’भुवनले भने,‘फिल्मको सफलताका फिल्मका प्राविधिक पक्षदेखि कलाकार सबैको उत्तिकै महत्वपूर्ण भूमिका छ, म सबैप्रति आभारी छु ।’

यो फिल्मको कलेक्सन वर्षकै सर्वाधिक कलेक्सन हो । कार्यक्रममा नायक अनमोलले फिल्म उद्योग एक भएर अघि बढ्नुपर्ने बताए । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो अभिनय मनपराइदिएकोमा दर्शकलाई धन्यवाद दिईन् । यो उनको पहिलो फिल्म हो । कार्यक्रममा उनले फिल्मको चर्चित संवाद सुनाएकी थिईन् ।

फिल्मका निर्माता समेत रहेका भुवनले फिल्मलाई लण्डन, कोरिया, जापान, अष्ट्रेलिया र अमेरिकालगायतका देशमा प्रिमियर गरिने जानकारी दिए ।

फिल्मलाई उपत्यकामा गोविन्द शाही र मोफसलमा मनोज राठी तथा उज्जवल पौडेलले वितरण गरेका हुन् । दोस्रो सातासम्म आईपुग्दा धेरै हलमा अझै पनि फिल्म हाउसफूलका साथ प्रदर्शन भईरहेको छ । फिल्म ‘होस्टेल’बाट नायकका रुपमा डेब्यु गरेका अनमोलले पहिलो फिल्मसँगै दोस्रो फिल्म ‘जेरी’बाट पनि सफलताको स्वाद चाखिसकेका छन् । उनी अभिनित प्रतिक्षित फिल्म ‘गाजलु’आगामी जेठमा रिलिज हुँदैछ ।