भूकम्पले ध्वस्त गाउँ लाप्राकीले गरे पुनःनिर्माण

March 10 2016 04:10

 

लाप्राक (गोरखा), फागुन २७ । नवनिर्माण र पुनःनिर्माणको चर्चा चलिरहेका बेला गोरखाको लाप्राकका भूकम्प प्रभावितले आफ्नै मेहनतले गाउँ पुनःनिर्माण गरेका छन् । सरकारी र दातृ निकायले दिने भनेका राहत, अनुदानको बाटो नहेरी अर्मोपर्मो र ऋण खोजेर लाप्राकीले बर्खाको पानी छल्न नयाँ घर बनाएका हुन् ।

भूकम्पले ध्वस्त बनाएका पूराना घरका काठपात, ढुङ्गा र माटोको जोडाइले लाप्राकीले नयाँ घर उभ्याएका हुन् । गुप्सीपाखाको अस्थायी टहरोमा हिउँद कटाएका लाप्राकीले आउँदो बर्खा पुरानै लाप्राक गाउँमा बनाएको घरमा बिताउने तयारी गरेका छन् । मौसमअनुसारको खेती गर्न र उत्पादन भएका अन्नपात भित्र्याउन पनि लाप्राकीलाई घर चाहिएको थियो ।

अस्थायी आवास प्रयोजनका लागि सरकारले राहतमा दिएको जस्तापाताको प्रयोग नगरेका लाप्राकीले गोब्रेसल्लाको फलेकले घर छाएका छन् । राहतस्वरुप पाएको दुई बन्डल जस्तापाताले गुप्सीपाखाको टहरो छाएका उनीहरुले पुरानो गाउँमा जस्तापाताको प्रयोग गरेका छैनन् । भूकम्पअघि पर्यटकीय गाउँका रुपमा विकास भएको लाप्राकलाई पुनः त्यो साख फर्काउन मौलिकता झल्कने घरहरु बनाइएको स्थानीयवासीले बताए ।

लाप्राकीले बनाएका नयाँ घरमा सिमेन्टको प्रयोग गरिएको छैन । केही मानिस सिमेन्ट, बालुवा र छडको जोडाइले घर बनाउन चाहन्छन् । उनीहरुले अहिले घर बनाएका छैनन्, घडेरी नापजाँच गरेर राखेका छन् । ढुङ्गा, माटो र काठको जोडाइले नै भूकम्प प्रतिरोधी घर बनाउने गाउँलेको चाहना रहेको लाप्राक–२ का पुरबहादुर गुरुङको भनाइ छ ।

“भत्केका घरको संरचना तह लगाइयो । बस्नयोग्य नयाँ घर बनाएँ’, गुरुङले भन्नुभयो – “वन समितिले नयाँ काठ काट्न रोक्का लगायो । पुराना काठपात बटुलेर घर उभ्याएँ ।” भूकम्पपछि गाउँबाट विस्थापित भई गुप्सीपाखाको शिविरमा बस्दै आएका लाप्राकीहरु अहिले घर बनाएर पूरानै गाउँमा बस्छन् । गुप्सीपाखामा पानीको अभाव छ भने बिहान, बेलुकी चिसो स्याँठ चल्छ ।

लाप्राक–२ का चामबहादुर गुरुङका अनुसार गुप्सीपाखा र रिञ्जिलुङ गाउँमा जस्तापाताले छाएको पक्की टहरा बनाइएका छन् । “लाप्राकीका दुईवटा घर हुने भयो” उहाँले भन्नुभयो – “हिउँदमा बेँसी झ-यो, बर्खामा गुप्सीतिर बस्नुपर्ला ।” विसं २०५६ मा लाप्राक गाउँमुनि पहिरो गएपछि त्यसबेला पनि लाप्राकलाई अन्यत्र सार्न खोजिएको थियो । त्यसबेला स्थानीयवासीले मानेनन् ।

भूकम्पपछि व्यवस्थित गाउँ बनाउने उद्देश्यले सरकारले गुप्सीपाखा लाप्राकीलाई दिने निर्णय गरेको छ । गाउँले सुरक्षित आवासका लागि गुप्सीपाखामा बस्न चाहन्छन् । तर खेतीपाती, भेडाच्याङ्ग्रा पाल्न आवश्यक जग्गा गुप्सीपाखामा नहुँदा उनीहरु मर्कामा छन् । भूकम्पपछि चिरा परेको जमिन, पानी परेपछि बग्ने हुँदा सुरक्षित बसोबासका लागि गुप्सीपाखा आवश्यक पर्ने लाप्राकीहरु तर्क गर्छन् ।

लाप्राक गुरुङ समुदायको बाक्लो बस्ती भएको गाउँ हो । यहाँका नौवटै वडा एकै गाउँमा छन् । गुरुङ समुदायको संस्कृतिमा धनी रहेको लाप्राकमा पछिल्लो समय विदेशी एवम् स्वदेशी पर्यटक घुम्नका लागि पुगेका थिए । पर्यटकको बसाइ बढाउन लाप्राकमा होमस्टे सञ्चालनको तयारी गरिएको थियो । “भूकम्पपछि गाउँको अवस्था सोधखोज गर्न पनि पर्यटक आउँछन्” – लाप्राकका हरिप्रसाद गुरुङले भन्नुभयो – “होटल होइन होमस्टे प्रवद्र्धन गर्नुपर्छ ।”

कामदारको अभावले लाप्राक गाउँ पुनःनिर्माण र धराप घरका संरचना तह लगाउन ढिला भएको हो । भूकम्प गएको एघार महिना कटिसक्दा पनि केन्द्रबिन्दु बारपाकलगायत छिमेकी गाविस सौरपानी, घ्याल्चोक, सिम्जुङ र गुम्दालगायत गाउँ अझै पुनःनिर्माणको क्रममा पुगेका छैनन् । जिल्लाका ७० हजारवटाभन्दा बढी व्यक्तिगत घर पुनःनिर्माण गर्नुपर्ने भएपनि भूकम्पपीडित सरकारी अनुदान रकमको पर्खाइमा छन् ।

लाप्राकीहरुले भने पुनःनिर्माण प्राधिकरणलाई चुनौती दिँदै गाउँ पुनःनिर्माण गरेका हुन् । तर उनीहरुले बनाएका घर पुरानै शैलीका छन् । ती घर भूकम्पप्रतिरोधी छैनन् । लाप्राकीहरु गुप्सीपाखामा भूकम्पप्रतिरोधी बनाउने प्रतिक्षामा छन् । प्राधिकरणले ६१७ घरधुरी लाप्राकमा पुनःनिर्माण गर्ने यसअघि नै सार्वजनिक गरिसकेको छ । भूकम्पले पु¥याएको क्षतिको लगत सङ्कलन गर्न गाउँमा इञ्जिनियर पुग्नुअघि नै लाप्राकको पुरानो गाउँ पुनःनिर्माण सकिएको हो ।

 

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top