सबै मतगणनाको परिणाम आउन एक साता लाग्ने

0 7

काठमाडौं, फागुन २७ । नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यहरुको मतगणना आजपनि जारी छ । बुधबार १ सय ५० मत गनेर स्थगित भएको मतगणना विहीवार विहान १० वजेदेखि पुनः सुरु भएको हो । खुलातर्फको २५ केन्द्रीय सदस्यका लागि ९० जनाले उम्मेदवारी दिएका छन् ।

धेरै जना उम्मेद्वार भएकाले मत गन्न झण्झटिलो भएको र एउटा मतपत्र गन्न कम्तीमा ५ मिनेट लाग्ने गरेको निर्वाचन समितिले जनाएको छ । सार्वजनिक मत परिणामअनुसार केन्द्रीय सदस्यमा पार्टी सभापतिमा विजयी भएका शेरबहादुर देउवा प्यानलका उम्मेदवारले अग्रता लिएका छन् ।

कांग्रेसको १३ औँ महाधिवेशनबाट सभापतिमा देउवा, महामन्त्रीमा शशांक कोइराला र कोषाअध्यक्ष सीतादेवी यावद विजयी भइसकेका छन् । त्यस्तै प्रदेश, दलित, समावेशी, महिलातर्फको मतगणना पनि बिहीबारदेखि हुने भएको छ । विहीवार पनि मतगणना जारी रहने निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

उनकाअनुसार सबै पदको मतगणना सकिन कम्तीमा पनि एक हप्ता लाग्ने देखिएको छ । महाधिवेशनमा कुल ३१४८ मत खसेको थियो । उम्मेदवारहरुले प्रोजेक्टरबाट सबैले देख्ने गरी मतगणना गर्नुपर्ने माग राखेपछि मतगणनाको नतिजा प्रत्यक्षरुपमा प्रोजेक्टरमार्फत देख्न सकिने भएको छ ।