प्रहरीद्वारा अवैधरुपमा सञ्चालित ५४ रक्सी भट्टी नष्ट

0 7

रौतहट, फागुन २७ । जिल्ला प्रहरी कार्यालय रौतहटले साताव्यापी मदिरा उत्पादन गर्ने भट्टी नष्ट गर्ने अभियानकै रुपमा नष्ट गर्ने कार्य जारी राखेको छ । एक सातासम्म गरिएको अभियानमा गौर नपा, चन्द्रपुर नपा, गरुडा नपा तथा मठिया, बंकुल, राजपुर, वसन्तपुर, गंगापिपरा मत्सरी, इनारवारी, लौकाहा, सवगढा, सिर्सिया लगायतमा वासघारी तथा एकान्त स्थानहरुमा संचालनमा रहेका ५४ वटा भट्टी नष्ट गरिएको उसले जनाएको छ ।

सो क्रममा ३१ हजार ३०० लिटर मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरिएको र १३५ वटा ड्रमसमेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखरेलले जानकारी दिए । प्रहरीको यो अभियानबाट रौतहटमा अवैध रक्सी भट्टी नष्ट भइ मदिराको नसाको कारण हुने अपराधिक घटनाहरुमा कमी आउने र आम नागरिकहरुले शान्ति सुरक्षाको महसुुस गर्ने अपेक्षा गरिएको पनि उनले वताए ।

जिल्ला प्रहरी कार्यालयले गाउँगाउँमा हुने डकैतीलगायतका अपराधिक घटना हुन नदिनेका लागि विशेष योजना बनाइ थप प्रहरी परिचालन गरेको जनाएको छ । प्रवक्ता पोखरेलकाअनुसार जिल्लाको विभिन्न स्थानमा ३ बिगाहा १० कठ्ठा जमिनमा लगाएको करिव ५३ लाख रुपैयाँवरावरको अफिम खेती पनि नष्ट गरिएको छ ।