केन्द्रीय सदस्यको खुलातर्फको मत गणना आज

0 11

काठमाडौं, फागुन २६ । नेपाली कांग्रेसको १३औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको खुलातर्फको मतगणना हुने भएको छ । निर्वाचन समितिका अनुसार आज विहान १० बजेदेखि केन्द्रीय सदस्यको खुलातर्फको मत गणना हुने भएको हो । मत गणना पार्टी कार्यालय सानेपामा हुने पनि समितिले जनाएको छ । खुलातर्फ २५ पदका लागि ९० उम्मेदवार चुनावी प्रतिष्पर्धामा रहेका छन् ।

केन्द्रीय सदस्यको खुलातर्फ अधिकाँश प्रभावशाली नेताहरु नै प्रतिष्पर्धामा रहेका छन् । प्रतिष्पर्धाका लागि वरिष्ठनेता शेरबहादुर देउवा, कार्यवाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलाले प्यानल नै बनाएका थिए । सभापतिमा देउवा, महामन्त्रीमा डा शशांक कोइराला र कोषाध्यक्षमा सीतादेवी यादव निर्वाचित भएपछि बुधवारदेखि केन्द्रीय सदस्यहरुको मत गणना हुने भएको हो । केन्द्रीय सदस्यमा देउवा र पौडेल प्यानलका २५/२५ उम्मेदवार छन् भने ४० जनाले स्वतन्त्ररुपमा उम्मेदवारी दिएका छन्।