राष्ट्रिय स्वाभिमान साझा पहिचान : प्रधानमन्त्री ओली आज ग्याल्पो ल्होसार मनाइँदै

0 3

 

काठमाडौं, फागुन २६ । हिमाली आदिवासी शेर्पाको चाड ग्याल्पो ल्होसार–२०७२ आज विविध कार्यक्रमका साथ मनाइँदैछ । पर्वकै अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका नेतालेपनि शेर्पा समुदायलाई शुभकामना दिएका छन् । ल्होसारका अवसरमा बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले शेर्पा समुदायका सबैप्रति सुख, शान्ति र समृद्धिको मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।
उनले जारी गरेको शुभकामना सन्देशमा यो पर्वले सम्पूर्ण शेर्पा समुदायमा नयाँ उत्साह, उमङ्ग र हौसला प्रदान गरोस् र शेर्पा समुदाय र अन्य समुदायका नेपालीबीच एकआपसमा भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पुगोस् भन्ने शुभेच्छा प्रकट गरेका छन् ।

‘चाडपर्वले सम्बन्धित समुदायमा नयाँ उमङ्ग, हौसला र उत्साह प्रदान गर्दछन् । विभिन्न समुदायको धार्मिक र सांस्कृतिक पर्वले आपसमा भाइचारा स्थापित मात्र गर्दैनन्,’ सन्देशमा भनिएको छ, ‘सबै धर्म, जातजाति, भाषा र संस्कृति मान्ने समुदायलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान गर्न, संरक्षण र सम्वद्र्धन गर्न पनि अभिप्रेरित गर्दछन् ।’

त्यस्तै, नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश भएको उल्लेख गर्दै उनले सन्देशमा भनेका छन्, ‘अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान देशको साझा पहिचान हो । प्रत्येक जातजाति र धर्मावलम्बीका आ–आफ्नै सांस्कृतिक महत्व बोकेको मौलिक परम्परा छन् ।’ सरकारले यस पर्वका अवसरमा आज सार्वजनिक विदा दिएको छ ।

 

You might also like More from author