हिमालय एयरलाइन्सको पहिलो एयरबस आज आउँदै

0 6

 

 

काठमाडौं, फागुन २६ । निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आज आफ्नो पहिलो एयरबस नेपाल भित्र्याउँदैछ । कम्पनीको ए३२० एयरबस बुधवार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने भएको छ ।

तिब्बत एयरलाइन्ससँग सहकार्य गरेर हिमालयले नेपालबाट अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गर्न लागेको हो । यही चैत ३० गतेदेखि व्यवसायिक उडान सुरु गर्ने कार्यतालिका रहेको कम्पनीका महाप्रबन्धक राजुबहादुर केसीले जानकारी दिए । ‘विमान आउनासाथ नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक प्रक्रिया पुरा गरी व्यवसायिक उडान सुरु हुन्छ,’ उनले भने, ‘हाम्रो पहिलो उडान दिल्लीमा हुनेछ र सोही दिन कतारको दोहामा दोस्रो उडान हुनेछ ।’

हिमालयको विमान ३० गते विहान ११ बजे काठमाडौंबाट भारतको नयाँँदिल्ली उड्ने तालिका छ । दिल्लीबाट दिउँसो ४ बजे काठमाडौं फर्किएर राती ८ बजे दोहातर्फ उड्नेछ । अर्को दिन विहान सवा ७ बजे दोहाबाट काठमाडौं अवतरण गर्ने छ । हिमालय एयरलाइन्सले चीनको लिजिङ कम्पनीसँग १२ वर्षका लागि एयरबस भाडामा लिएको हो । अहिले सो एयरबस चीनको चेङ्दुमा रहेको छ । यसअघि नै व्यवसायिक उडान सुरु गर्ने तयारी गरेको कम्पनीले भूकम्पका कारण कार्यतालिका सारेको थियो ।