नयाँ बसपार्कलाई सुविधा सम्पन्न र आधुनिक बनाइने

0 6

काठमाडौं, फागुन २६ । नयाँ बसपार्कलाई स्तरोन्नति गरी सुविधा सम्पन्न एवं आधुनिकीकरण गरिने भएको छ । समृद्ध महानगर निर्माणमा ठूला तथा आधुनिक संरचना निर्माणको महत्वपूर्ण भूमिका हुने भन्दै ल्होत्से बहुउद्देश्यीय प्रालि र काठमाडौँ महानगरपालिकाको संयुक्त आयोजनामा बसपार्क क्षेत्रको समुन्नत पूर्वाधार तथा आधुनिक बसपार्क निर्माण गरिने भएको हो ।

विकासमा प्रविधि र साझेदारीलाई सँगसँगै लैजाने उद्देश्यकासाथ बसपार्कलाई आधुनिक बनाइन लागेको काठमाडौँ महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले बताए ।
‘नयाँ बसपार्कको आधुनिकीकरणले राजधानीमा सवारी आवागमनको स्तरीयतामा सुधार आउनेछ,’ उनले भने, ‘आधुनिकीकरणसँगै सहरलाई व्यवस्थित बनाउन यो कार्यक्रमले सहयोग पुग्नेछ ।’

ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवरले अबको नयाँ बसपार्क महिला तथा अपाङ्गमैत्री, सुन्दर, व्यवस्थित र यात्रुको आवतजावत, आराम तथा यात्रालाई सहज बनाउन आवश्यक सुविधासहितको हुने प्रतिबद्धता व्यक्त गरे ।

जापान सरकारले निर्माण गरेर नेपाल सरकारमार्फत काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरिएको नयाँ बसपार्क काठमाडौँ महानगरपालिकाले २०५७ सालमा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सार्वजनिक सेवा केन्द्र सञ्चालनलगायत सर्त पालना गर्ने गरी ४५ वर्षका लागि जिम्मा दिएको थियो ।