उपत्यकाबाहिर बस्ने पूर्वराष्ट्रपति यादवको चाहना

0 6

 

काठमाडौं, फागुन २६ । पूर्वराष्ट्रपति डा रामवरण यादवले आफूलाई उपत्यका बाहिर स्थायी बसोबासको ब्यवस्था मिलाइ दिनका लागि सरकारसँग आग्रह गरेका छन् । उनको यो समस्याका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका छन् ।

सरकारी खर्चमा ललितपुरको वागडोलस्थित भाडाको घरमा बस्दै आएका पूर्वराष्ट्रपति डा यादवका घरधनीले प्रतिबद्धताअनुसार घरभाडा नबुझाएको भन्दै सरकारलाई लिखित पत्रचार गरेका थिए । सो पत्रपछि अनुगमनका लागि यादव निवास पुगेको सरकारी प्रतिनिधिमण्डललाई पूर्वराष्ट्रपति यादवले काठमाडौं उपत्यका बाहिर स्थायी बसोबासको माग गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्रीका प्रमुख स्वकीयसचिव इन्द्रप्रसाद भण्डारीको नेतृत्वमा वागडोल पुगेको टोलीलाई यादवले हालसम्मको घरभाडा नतिरेको, कम्पाउण्ड र प्रतिक्षालय नभएको तथा सुरक्षार्थ खटिने सुरक्षाकर्मीलाई बस्ने घरलगायतको समस्या रहेको जानकारी गराएका थिए ।
पूर्वराष्ट्रपतिबाट आएका गुनासोहरु प्रधानमन्त्रीसमक्ष राखेर सोहीअनुसार प्रक्रिया अघि बढाइने स्वकीय सचिव भण्डारीले बताए ।