ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट आजदेखि

0 7

151211144735_icc_t20_world_cup_624x351_icc

एजेन्सी,फागुन २५ । आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट आजदेखि भारतमा सुरु हुँदैछ । प्रतियोगिता अन्तर्गत मंगलबारदेखि पहिलो चरणको खेल हुदैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको आयोजनामा हुन लागेको छैटौँ ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगितमा आइसिसीका १० स्थायी सदस्य राष्ट्र तथा गएको वर्ष भएको छनौट प्रतियोगिताबाट छानिएका ६ राष्ट्र गरी १६ टिमको सहभागिता रहने छ ।

पहिलो चरणमा गएको वर्ष भएको छनौट प्रतियोगिताबाट छानिएका स्कटल्याण्ड, आइरल्याण्ड, हङकङ, नेदरल्याण्ड, अफगानिस्ता र ओमन तथा आइसिसीका दुई पूर्ण सदस्य बंगलादेश र जिम्बाबेले खेल्नेछन् । दुई समूहमा विभिजन गरिएका यी टोली मध्ये समूहको शीर्ष स्थानमा रहने दुई टिम दोस्रो चरण अर्थात सुपर टेनमा प्रवेश गर्ने छन् ।

पहिलो चरणको समूह ‘ए’ मा बंगलादेश, नेदरल्याण्ड, आइरल्याण्ड र ओमन तथा समूह ‘बी’ मा जिम्बाबे, स्कटल्याण्ड, हङकङ र अफगानिस्तान छन् । यी दुई समुहका विजेताले सुपर टेनमा आयोजक भारत, अस्ट्रेलिया, इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका तथा वेष्टइन्डिजसँग प्रतिस्पर्धा गर्ने छन् ।
सुपर टेनको समूह ‘ए’ मा पहिलो चरणको समूह ‘बी’ को विजेता राष्ट्र, श्रीलंका, दक्षिण अफ्रिका, वेष्टइन्डिज र इंग्ल्याण्ड छन् । यस्तै समूह ‘बी’ मा पहिलो चरणको समूह ‘ए’ को विजेता राष्ट्र, भारत, पाकिस्तान, अस्ट्रेलिया र न्युजिल्याण्ड छन् । प्रतियोगितका खेल भारतका विभिन्न ८ शहरमा हुनेछन् । पहिलो चरण अन्तर्गत मंगलबार नागपुरमा हङकङ र जिम्बाबे तथा अफगानिस्तान र स्कटल्याण्डबिच खेल हुनेछ । दोस्रो चरणका खेल आउँदो चैत दुई गतेदेखि सुरु हुने उज्यालो अनलाईनले समाचार लेखेको छ । प्रतियोगिता चैत २१ गते सकिने छ ।
भारतको मनोबल उच्च

आयोजक राष्ट्र भारत उच्च मनोबलका साथ प्रतियोगितमा सहभागी हुँदैछ । आइतबार बेलुका एसिया कप क्रिकेटको उपाधि उचालेको भारत अहिले आइसिसीको ट्वेन्टी–ट्वेन्टी र्‍याङकिङमा पहिलो स्थानमा छ । बंगलादेशलाई हराएर भारतले उपाधि उचालेको हो । भारत ट्वेन्टी–ट्वेन्टी विश्वकपको अघिल्लो संस्करको उपविजेता हो । सन् २०१४ मा भएको प्रतियोगितामा भारत श्रीलंकासँग पराजित भएर उपविजेतामा सीमित भएको थियो । भारतले सन् २००७ मा विश्वकप उपाधि जितेको थियो ।