नेविसंघको प्रथम सभापतिदेखि कांग्रेस सभापतिसम्म

0 6

काठमाडौं, फागुन २५ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाको जन्म विसं २००४ जेठ ३० गते रुवाखोला असिग्राम- ५ डडेल्धुरामा भएको हो । हाल उनी बुढानिलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आएका छन् ।

बाल्यकालदेखि नै राजनीतिक चासो राख्ने नवनिर्वाचित देउवा पार्टी संस्थापक नेता विपी कोइरालाको राजनीतिक प्रेरणाबाट राजनीतिमा होमिएका थिए । खासगरी विसं २०१७ पछिको राजनीतिक घटनाक्रमबाट सक्रिय नेपाली राजनीतिमा प्रवेश गरेका हुन् । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेपाल विद्यार्थी सङ्घका प्रथम सभापति हुन् ।

त्रिविबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा पनि स्नातक देउवा सोही विषयमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन् । देउवाका एक छोरा छन् । उनकी धर्मपत्नी डा आरजु पनि राजनीतिमा सक्रिय छिन् । आरजु अहिले व्यवस्थापिका–संसद् सदस्य छिन् ।

विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेलधुरा जिल्ला क्षेत्र नं १ बाट तथा विसं २०६४ र २०७० मा भएको संविधानसभाको निर्वाचनमा डडेलधुरा क्षेत्रं १ र कञ्चनपुर जिल्लाको क्षेत्र नं ५ बाट विजयी देउवाले गृहमन्त्री र पटक–पटक गरी तीन पटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

विसं २०५१ मा भएको मध्यावधि चुनावपछि उनी कांग्रेसको संसदीय दलको नेतृत्व गर्दै विसं २०५२ मा पहिलो पटक नेपालको प्रधानमन्त्री बने । विसं २०५९ मा दोस्रो पटक प्रधानमन्त्री भएका देउवा त्यसको दुई वर्षपछि २०६१ सालमा पुनः प्रधानमन्त्री बने ।

कांग्रेसको विभाजनपछि उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक)को सभापति बने । कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक)को एकतापछि उनी नेपाली कांग्रेसको वरिष्ठ नेता भए ।

उनी विसं २०५६ मा माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष पनि भए ।

देउवाले भारत, चीन, भुटान, माल्भ्दिस, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्वीट्जरल्यान्ड, ग्रीस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलियालगायत मुलुकको भ्रमण गरेका छन् ।

 

You might also like More from author