सेना हेरेर मात्रै बस्दैन: प्रधानसेनापति

0 6

Chhetry

काठमाडौं,फागुन २४  । नेपाली सेनाले राष्ट्रमा देखिएको पछिल्ला सुरक्षा चुनौतीको दिगो समाधान राजनीतिक रूपमा खोज्न सुझाएको छ  ।  देश टुक्याउन खोज्ने, नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई खतरा पुर्याउनेविरुद्ध सशक्त रूपमा प्रस्तुत हुने सेनाले जनाउ दिएको छ । तराई–मधेसमा केही समूहले पृथकतावादी आन्दोलन गरिरहेका बेला सुरक्षा कारबाही राजनीतिक प्रक्रियालाई सहज बनाउने उपयुक्त माध्यम भएको सेनाको   ठहर छ।

महाशिवरात्रि तथा सेना दिवस २०७२ को अवसरमा आइतबार जंगी अड्डामा आयोजित कार्यक्रममा सेनाका सकलदर्जालाई सम्बोधन गर्दै प्रधानसेनापति राजेन्द्र क्षत्रीले भने  ‘सुरक्षा कारबाही राजनीतिक प्रक्रियालाई सहज बनाउन उपयुक्त वातावरण सिर्जना गरिदिने माध्यम मात्र हो । सुरक्षा चुनौतीको दिगो समाधान राजनीतिक रुपमा गरिनुपर्ने भए तापनि देश नै टुक््रयाउने खालका तथा राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई खतरा पु¥याउने प्रवृत्तिका सुरक्षा चुनौती सिर्जना भए नेपाल सरकारको निर्देशानुसार विधिसम्मत तरिकाले नेपाली सेना स्वतः परिचालन हुनेछ । ‘

‘राष्ट्रिय हित प्रतिकुलका अवान्छित गतिविधिलाई सेनाले नजिकबाट सूक्ष्म अध्ययन र विश्लेषण गरी सोहीअनुसार रणनीति तयार गरिरहेको छ,’ प्रधानसेनापति क्षत्रीले भने ।

नेपाली सेना सारा नेपाली जनताको साझा राष्ट्रिय सेना भएको उल्लेख गर्दै उनले प्राप्त जिम्मेवारी प्रभावकारी ढंगबाट बहन गर्नका लागि सेनालाई आधुनिकीकरण गर्नु अत्यावश्यक रहेको बताए । उनले भने, ‘सेनाको लोकतन्त्रीकरण भनेकै पेसागत रुपमा दक्ष, व्यावसायिक र आधुनिक फौजको रूपमा विकास गर्नु हो ।’ सेनाको सफलताका लागि प्रमुख आधार असरदार तालिम रहेको जनाउँदै उनले तालिममा विशेष जोड दिनुपर्ने बताए ।

संविधानले सुम्पेका जिम्मेवारी असरदार रुपमा बहन गर्न सेना हरहमेसा कटिबद्ध, सक्षम र तयार रहेको उनले जनाए । ‘नेपाल सरकारले राष्ट्र र जनताको सर्वोपरी हितका लागि संवैधानिक प्रक्रियाअनुरुप प्रदान गर्ने सबै जिम्मेवारीको पूर्ण रूपमा पालना गर्नु नेपाली सेनाको प्रमुख दायित्व हो,’ उनले भने ।

देशमा समय समयमा हुने इन्धन अभावले नियमित कार्यमा पुर्याउने असरलाई दीर्घकालीन रुपमा समाधान गर्न बायोग्यास प्लान्ट जडान गर्ने उनले बताए । नागरिक–सैनिक सम्बन्धको विकासमा जोड दिँदै उनले आगामी दिनमा राष्ट्रिय सेवा दलले गरिरहेको युवा नेतृत्व विकास कार्यक्रमको दायरालाई थप फराकिलो बनाउने जानकारी दिए । उनले चीनसँग जोडिने वेत्रावती–रसुवागढी सडकको मैलुङ–स्याफ्रुवेसी खण्ड विस्तार तथा स्तरोन्नति समयअगावै सम्पन्न गर्न सेना अघि बढेको जनाए ।

विनाशकारी भूकम्पबाट क्षतिग्रस्त सैनिक संरचनाको पुनर्निर्माण तीव्ररुपले गर्नुपर्ने बताउँदै उनले विनाशकारी भूकम्पबाट नेपाली सेनाका बहालवाला तथा अवकाशप्राप्त ५१ हजार ५ सय २३ जना सैनिकलाई पुग्न गएको क्षतिप्रति संवेदनशील भई सैनिक कल्याणकारी कोषबाट २ अर्ब ३९ करोड ९८ लाख ३२ हजार राहत वितरण गरिएको जानकारी दिए । कार्यक्रममा प्रधानसेनापति क्षत्रीले नेपाली सेनाद्वारा प्रकाशित ‘कफि टेबल’ पुस्तकको पाँचौं संस्करणसमेत विमोचन गरेका थिए ।