महामन्त्री पदमा मेरो उम्मेदबारी किन ?

0 8

गगन थापा \ ऐतिहासिक संविधान निर्माणपछिको विशिष्ट परिस्थितिमा हुन लागेको नेपाली काँग्रेसको तेह्रौं महाधिवेशनमा म महामन्त्री पदको दाबीका साथ विनम्रतापूर्वक उभिएको छु । म निष्ठावान् काँग्रेसजनसँग मिलेर नेपाललाई अखण्डित, समतायुक्त, सम्पन्न र सम्मानित नेपाली बस्ने साझा घर बनाउने सपना देख्न चाहन्छु । म चाहन्छु, हाम्रो पार्टी त्यो सपनालाई साकार पार्ने सशक्त माध्यम बनोस् ।

हिजो विद्यार्थीकालमा गणतन्त्रको उद्घोष र राजद्रोहको मुद्दा खेप्दै गर्दादेखि नै आम काँग्रेसजनको अपार स्नेह र भरोसले मलाई परिवर्तनका लागि संघर्ष गरिरहन प्रेरित गरिरहेको हो । आज फेरि महाधिवेशनमा आउनु भएका धेरै साथीहरु त्यही पुरानै आशा र आशीर्वादको संदेशले मलाई यो नयाँ यात्राका लागि उत्प्रेरित गरिरहेको छ ।

विकास र समृद्धिको प्रचूर सम्भावना भएको यो देश विश्वकै गरीबतम् मुलुकमा परिणत भइसक्दापनि पार्टीभित्र र बाहिर पद र प्रतिष्ठाको भागबण्डा र लुछाचुँडी झनै तीव्र भएको छ । फलस्वरुप, जतिसुकै ठूला राजनीतिक परिवर्तन भएपनि हाम्रै जीवनकालमा देशभित्र कुनै तात्विक परिवर्तन हुँदैन कि भन्ने आशंकाले यो बेथितिबाट लाभान्वित एउटा सानो समूह बाहेक अधिकांश नेपाली जनता आत्तिइसकेका छन् । असहाय बाबुआमालाई एक्लै छाडेर अवसर र समृद्धिको खोजीमा कतै अज्ञात जगतमा जाँदै गरेका शिक्षित युवाको लर्कोले हाम्रो राजनीतिलाई अर्थहीन साबित गरिरहेको छ । तिनले विदेशमा सडक, पुल, भवन र वैभवको सृजना गरिरहँदा हामी भने तिनैको रेमिटेन्सलाई सदुपयोग गरेर एउटा गतिलो जलविद्युत परियोजना समेत बनाउन सक्दैनौं । हाम्रो राजनीतिले न देशलाई अंधकारमुक्त पार्न सकेको छ, नत खाद्यान्नमा आत्मनिर्भर । दूरदराजका गाउँमा औषधीमूलोको अभावमा पखाला लागेर ज्यानै गुमाउने नियति रहुन्जेल हाम्रो राजनीतिककर्मको के औचित्य छ ?

निश्चयनै देशको सबैभन्दा ठूलो, सबैभन्दा लामो र गौरवमय इतिहास भएको र सबै परिवर्तनको नेतृत्व गरेको एवं भविष्यमा पनि त्यस्तै रहिरहने भरपर्दो सम्भावना भएको पार्टीको नाताले नेपाली काँग्रेस राम्रो भयो भने मात्र देश राम्रो हुनेछ । तर के आज हाम्रो पार्टीमा हाबी भएको प्रवृत्ति, संस्कार र शैलीले काँग्रेसलाई राम्रो बन्न दिएको छ त ? नेपाली काँग्रेस दुई फरक पार्टी जस्ता दुई गुटको स्वार्थ अनुसार हुने ६० र ४० को भागबण्डाले जकडिएको संगठनमा परिणत भएको छ । यस्तो अवस्थामा उदात्त ध्येय र गम्भिर समर्पणका साथ समाज परिवर्तन गर्न राजनीतिमा यौवन न्यौछावर गर्ने निष्ठावान् र विचारवान् साथीहरु पार्टीभित्रका ‘हस्ती’हरुबाट पटक पटक चरम उपेक्षाको शिकार हुनु परेको छ ।

काँग्रेस व्यवस्थित ढंङ्गले संचालन भएको थियो भने वा पार्टीभित्रका कतिपय निजी महत्वाकांक्षाको उचित व्यवस्थापन हुन सकेको थियो भने नेपालको लोकतान्त्रिक आन्दोलनले शायद यति धेरै कष्ट बेहोर्नु पर्ने थिएन । आन्तरिक गुटबंदी र कलहले अन्ततः मुलुकलाई हिंसा र प्रतिहिंसाको चक्रव्यूहमा फँसाएको इतिहासलाई भोगेर आएका आम काँग्रेसजन पार्टीको भविष्यप्रति कहिल्यै पूर्णतः आश्वस्त हुन सकेका छैनन् । न पार्टी स्वयं आम नेपालीको स्वप्नशील र दूरदृष्टियुक्त अगुवा बनेर समाज परिवर्तनको संबाहक बन्न सकेको छ । यसरी सर्वोच्च तह देखिनै पार्टी संरचनामा हाबी भएको भागबंडायुक्त महत्वाकांक्षा र त्यसले निम्त्याएका यावत् विकृति अब हाम्रा लागि स्वीकार्य हुनु हुन्न ।
यो प्रवृतिलाई कसै न कसैले चुनौती दिनु पर्छ भन्ने सत्यलाई आत्मसात गरेर म अगाडी सरेको हुँ । नेपाली काँग्रेस गुटहरुको बन्दी होइन र यो वंशवादमा विश्वास गर्दैन भन्ने आदर्शलाई स्थापित गर्न मैले यो आँट गरेको हुँ । आम काँग्रेसजन दाजुभाइ दिदीबहिनीबाट निरन्तर पाएको विश्वास र समर्थनका कारण यो आँट गर्नु मेरो नैतिक दायित्वपनि हो । निश्चयनै यो यात्रा सहज छैन, तर सबैको हात र साथ पाउँदा त्यो न हिजो असम्भव भएको थियो नत भोलि नै असम्भव हुनेछ ।

हरेक पुस्ताको भावी पुस्ताप्रति नैतिक दायित्व हुन्छ । अबको १५ वर्षभित्र बलियो जनाधार भएको एउटा सशक्त लोकतान्त्रिक पार्टी र उन्नतिपथमा तीव्र फड्को मारिरहेको देश हामीले आउँदा पुस्तालाई सुम्पने दायित्वबोधका साथ पार्टीको नीतिलाई प्रभावित गर्ने स्थानमा पुग्न मैले यो उम्मेदबारी दिएको हुँ । परिस्थितिले हामीलाई यो असंभवझैं प्रतित हुने सपनालाई संभव तुल्याउने अवसर दिएको छ । बहुमूल्य समय र स्रोतको क्षति व्यहोरेर नयाँ संविधान मार्फत देश अन्ततः लोकतन्त्रवादको त्यही वैचारिक मार्गमा फर्किएको छ, जुन मार्ग हाम्रा दूरदर्शी अग्रजहरूले सत्तरी वर्ष अगाडि नै देखाएका थिए ।

लोकतन्त्र हाम्रालागि माध्यम मात्र हो, हाम्रो लक्ष्य त समानतायुक्त, सम्पन्न र सम्मानित नेपाली बस्ने समुन्नत नेपालको निर्माण हो । यो विजयलाई स्थायी गर्नका लागि हामीलाई २००७ सालको जस्तो क्रान्तिकारी, २०१५ सालको जस्तो प्रगतिशील तथा स्वाभिमान र स्वतन्त्रताको जगमा समुन्नत नेपालको संकल्प गरिरहेको तन्नेरी पुस्ताको वाणीलाई बुझ्न सक्ने आधुनिक लोकतान्त्रिक पार्टी चाहिएको छ । २०४८ सालको आम निर्वाचनमा ३७ प्रतिशत लोकप्रिय मत प्राप्त गरेको कांग्रेस अहिले २५ प्रतिशतमा खुम्चिएको छ। मुलुकका ६० प्रतिशत मतदाता १८ देखि ४० वर्ष सम्मका छन्। समुन्नत नेपालको सपना देख्ने यो तन्नेरी पुस्तालाई आकर्षित गरेर मात्र कांग्रेसले तिब्र रुपमा परिवर्तन भैरहेको समाजको नेतृत्व गर्न सक्नेछ।

तन्नेरीअवस्थामा विद्यार्थी राजनीतिमा होमिँदा मैले यतिमात्र बुझेको थिएँ कि राज्यको सामन्ती संरचना रहुञ्जेल म जस्ता युवाहरुको अथाह सृजनात्मक उर्जाको सदुपयोग हुन सक्दैन । सृजनशीलता फस्टाउने वातावरण नहुँदा मेरा साथीभाइहरु धमाधम विदेश जाँदै थिए र मलाईपनि प्रेरित गरिरहेका थिए । तर मलाई भने काँग्रेसका विचारले आकर्षिक गर्दै गएका थिए र म यहीँ परिवर्तन चाहन्थें । शासन गर्ने व्यक्तिको छनोटमा आफ्नो भूमिका नहुञ्जेल नियतिले हामीमाथि जस्तो शासक थोप¥यो त्यसैबाट शासित हुन र यसरी नै अवनतिले जकडिइरहन हामी अभिशप्त रहन्छौं ।

हाम्रा प्रतिभाशाली र अथक संघर्षशील अग्रजहरुको समस्त जीवन त्यही सामन्ती सत्ताका विरुद्धमा संघर्ष गर्दागर्दै व्यतित भयो । अन्याय र अत्याचारलाई स्वीकार्न नसक्ने मेरो विद्यार्थी चेतनाले भन्यो– ‘राजाको छोरो नै राजा हुने वंशवादी अन्यायको अब अन्त्य हुनुपर्छ ।’ म गणतन्त्रको संघर्षमा होमिएँ । देशमा गणतन्त्र आएपछि हामीले सोचेका थियौं, अब सब ठीक हुन्छ । तर सबै ठीक भएन किनकि हामी फेरि एकचोटि राजनीतिक संक्रमणको भासमा फँस्यौं ।

हाम्रा सारा सपनालाई क्षतविक्षत पार्ने उद्देश्यका साथ मच्चाइएको माओवादी क्रुर हिंसाले मुलुकलाई जोड्ने सबै तन्तुहरुलाई चुँडाइदिएको हुँदा लोकतन्त्र र गणतन्त्रलाई संवैधानिक सुनिश्चितता दिलाउने कार्य निकै कष्टकर साबित भयो । दुई वर्षमा बन्नु पर्ने संविधान बन्न सात वर्ष लाग्दैगर्दा गरीबी, अभाव र असमानताका जरा उखेल्नेगरी आर्थिक प्रगतिका आधार खडा गर्न कटिवद्ध हुनु पर्ने अमूल्य समय हामीले राजनीतिक खिचातानीमा बितायौं । सहमति, सहकार्य, लेनदेन आदि सुन्दर नामको आवरणले छोपिएपनि त्यो मूलतः पार्टीका सबै ‘शिर्ष र प्रभावशाली’ मान्यजनहरु बीच भएको स्रोत र सत्ताको तानातान थियो, जसले हाम्रा थुप्रै अवसर र सम्भावनालाई सिध्याइ दियो । ‘तिमीलाई बारम्बार सबै भन्दा ठूलो दल बनाउँदा पनि किन देश गरीबी, विभेद र द्वन्द्वको दुष्चक्रबाट मुक्त हुन सकेन’ भनेर आज जनताले हामीलाई सोधिरहँदा एकचोटि कठोर आत्मसमीक्षाका साथ फेरि आफूले हिँडेको राजनीतिको बाटोको पुनरावलोकन गर्ने साहस गरौं ।

यसरी जनताले आफूलाई दिएको अधिकार र विश्वासलाई अवहेलना गर्दै संक्रमणको नाममा राजनीतिको शीर्ष स्थानमा रहेका व्यक्तिहरु पद र प्रतिष्ठा तथा स्रोत र साधनको भागबण्डामा लागिरहेको निरिहतापूर्वक हेरिरहँदा मलाई लाग्यो, हस्तक्षेप गर्न सक्ने त्यो स्थानमा अब नयाँ मानिसहरु पुग्नु पर्छ !

हामी आफ्नै जीवनकालमा सबै नेपाली सम्पन्न र सम्मानित जीवनयापन गर्न पाउने समुन्नत नेपालमा बसेको हेर्न चाहन्छौं । हाम्रा छोराछोरीले यही देशमा अवसर र सम्मान पाउन्, त्यसको खोजीमा तिनलाई स्वदेशी शासकहरुलाई धिक्कार्दै निरुपाय याचकका रुपमा विदेश जानु नपरोस् भन्ने चाहन्छौं । तिनलाई समस्याको समुद्र होइन, सम्भावनाको हिमाल छाडेर जाऔं । अब हामी कुनै विशेष परिवार, जाति र क्षेत्रमा जन्मेकै आधारमा व्यक्तिको भविष्य निर्धारण हुने अन्यायपूर्ण अवस्थाको अन्त्य गरेरै छाड्ने छौं । नत्र नयाँ संविधान र नयाँ राजनीतिको के अर्थ ? हाम्रै जीवनकालमा यहाँ सबै ठीक हुनुपर्छ र हामी त्यस्तो नेपाल निर्माणको अभियन्ता बन्न चाहन्छौं ।

आज देश छाडेर जाने तरखरमा रहेको तन्नेरी होस् वा विश्राम गर्दै गरेको पाको नागरिक, विदेशमा पेशा व्यवसाय गरेर वसेको नेपाली होस् वा खाडी मुलुक र भारतमा श्रम गरिरहेको नेपाली, काठमाण्डौको होस् वा कर्णालीको, मधेसको होस वा हिमाल—पहाडको, अक्षर चिन्ने होस वा नचिन्ने, जुनसुकै पेशा, धर्म, जात, लिङ्ग, भाषा, वर्गको नेपाली किन नहोस्, यो मुलुकको अवस्थाका बारेमा एकचोटि नसोचिकन सुत्न सक्दैन । यही भावना नै हो हाम्रो तागत, एकताको आधार र आत्मविश्वास । यही आत्मविश्वासमा टेकेर नै समुन्नत नेपाल बनाउन सम्भव छ ।

हाम्रो अग्रज पुस्ताको अथक परिश्रम र संघर्षले पार्टीले लोकतन्त्रका ठूला–ठूला लडाईं जितेको छ । संघर्षकालमा उहाँहरुले गरेको बलिदान र योगदानको हामी सवीनय गहिरो सम्मान गर्छौं । तर अब मुलुक संविधान निर्माणपछि समृद्धि निर्माणको अत्यन्त महत्वपूर्ण तर कठिन चरणमा प्रवेश गरेको छ । यस्तो विशेष परिस्थितिमा भइरहेको महाधिवेशनले नेपाली काँग्रेसको यो चरणको बाटो र मुलुकको दिशा तय गर्नेछ । नेपाली काँग्रेसले सही बाटो समात्यो भनेमात्र देशले सही बाटो समात्छ, अन्यथा फेरिपनि यो गोलचक्करको अभिशाप समाप्त हुने छैन ।

परिवर्तित सन्दर्भसँगै युवामा बढेको परिवर्तनको चाहना, सीमान्तकृत समुहको पहिचानको अभिलाषा, समावेशीकरण र सशक्तिकरणको आकांक्षा, लोककल्याण र सामाजिक न्यायका सन्दर्भमा आएको चेतना, सांस्कृतिक, जातीय र लैंगिक नवचेतना, छिमेकी सम्वन्धका संभावना र चूनौति, अनि उन्नति र समृद्धिको भोकलाई समेत संवोधन गर्ने गरी हामीले नीति, विधि र नेतृत्व छान्नु छ । यसमा हामी खरो उत्रन सक्छौं या सक्दैनौं, पार्टीको जीवन्तता त्यसैले तय गर्ने छ । देश संघर्ष होइन निर्माणमा केन्द्रित हुँदैगर्दा त्यो अभियानलाई प्रभावित तुल्याउन सक्ने देशकै सबैभन्दा ठूलो र लामो इतिहास बोकेको पार्टीको नेतृत्व तहमा पनि अब नयाँ रगतको संचार हुनुपर्छ । नयाँ दृष्टिकोणको उपस्थिति हुनु पर्छ ।
नेपाली काँग्रेसलाई फेरि जनप्रिय, संघर्षशील, प्रगतिशील र जुझारू अर्थात आफ्नो समस्त अतीतकालीन गौरव र स्वरुपको पार्टी बनाउने, युवामाझ लोकप्रिय तथा एक्काइसौं शताब्दी अनुकूलको आधुनिक राजनैतिक संगठन बनाउने र वैचारिक जागरणयुक्त र भागबण्डामुक्त मुलुकको अग्रणी लोकतान्त्रिक पार्टी बनाउने यो अभियानमा म समर्पित काँग्रेसजनसँग अग्र मोर्चामा हि“ड्न चाहन्छु । अघिल्लो महाधिवेशन झैं एक चोटि फेरि उहाँहरुको निष्ठावान् हात र क्रियाशील साथ पाउनेमा म ढुक्क छु । क्षितिज उज्यालिँदै छ, हामी आफ्नो एकताबद्ध र सिर्जनशील अभियानको बलले क्षितिजपारिको न्यायपूर्ण, समृद्ध र सुखी नेपालमा पुगेरै छाड्ने छौं ।