शिवरात्रिका लागि ४ हजार सुरक्षाकर्मी परिचालित

0 5

काठमाडौं, फागुन २४ । शिवरात्रिको अवसरमा सुरक्षाका लागि करिब ४ हजार सुरक्षाकर्मी परिचालित भएका छन् । सोमबारको शिवरात्रिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका सुराकी र ट्राफिक प्रहरी आइतबार साँझदेखि नै खटिएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विक्रमसिंह थापाका अनुसार नेपाल प्रहरीका करिब १ हजार, सशस्त्रका १ हजार, ट्राफिक प्रहरी ६ सय ९२ जना

खटिएका छन् । यस्तै राष्ट्रिय अुनसन्धान विभागका करिब ५ सय सुराकी परिचालन भएको गृहमन्त्रालय स्रोतले जनाएको छ ।
पशुपति क्षेत्रको आसपास चावहिल, मित्रपार्क, एयरपोर्ट, सिनामंगल, पुरानोबसपार्क, सिफलसम्मका क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन हुने जनाइएको छ ।

साधुदेखि भक्तजनसम्मको सुरक्षाका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको महानगरीय प्रहरी आयुक्त कार्यालयले जनाएको छ । कार्यालय प्रमुख आयुक्त एआइजी प्रतापसिंह थापाले सुरक्षाका दृष्टिले कुनै समस्या नरहेको भन्दै शिवरात्रिलाई व्यवस्थित गर्न पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको बताए ।

शिवरात्रिमा यातायात व्यवस्थापन गर्न ट्राफिक प्रहरी पनि पर्याप्त परिचालन गरिएको छ । ट्राफिक प्रहरी प्रवक्ता एसपी लोकेन्द्र मल्लका अनुसार पशुपति क्षेत्र आसपासमा सबै सवारीलाई प्रवेशमा रोक लगाएको छ । पशुुपतिमा दर्शन गर्न जाने भक्तजनका सवारी साधनलाई तिलगंगा, अमालकोट, सिफल, गौशाला ट्राफिक प्रहरी प्रभाग, पशुपति क्षेत्र विकास कोषको कार्यालय र गुहेश्वरीको पारिपट्टि पार्किङको व्यवस्था मिलाएको ट्राफिक प्रवक्ता एसपी मल्लले बताए ।

ट्राफिकका अनुसार तीनकुनेबाट गौशालातर्फ, गोपिकृष्णबाट चावहिलतर्फ, नारायणटार पुलबाट करिडोरको बाटो भएर आउने मालवहाक सवारीलाई रोक लगाइएको छ । यात्रुवाहक सवारीलाई नयाँबानेश्वर भएर तीनकुने तथा रिङरोड परिक्रमागर्ने सवारीलाई पुरानो बसपार्क, भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने हँुदै तिलगंगासम्म मात्र जान दिइनेछ । रातोपुल–गौशाला–चावहिल हुँदै बौद्ध जाने सवारीलाई पुरानो बसपार्क, भद्रकाली, भोटाहिटी जमल, केशरमहल, खानी विभाग हँुदै सुकेधारा, चावहिल हँुदै बौद्ध जाने व्यवस्था मिलाएको ट्रापिकले जनाएको छ ।

यस्तै कलंकी, हलचोक, बालाजु चल्ने बस, मिनीबस, माइक्रो बसलाई सुकेधारा भएर राजधानी पेट्रोल पम्पबाट सोही रुट फर्कने व्यवस्था मिलाएको छ । रातोपुल, गौशाला, भएर चावहिल चल्नेलाई रत्नपार्क, भद्रकाली, सुन्धारा, भोटाहिटी, जमल कृष्णपाउरोटी, ज्ञानेश्वर, सानो गौचरन, कालोपुल, सिफल, चावहिल हँुदै बौद्ध जाने व्यवस्था मिलाएको जनाइएको छ ।

यस्तै शंखमूल, नयाँबानेश्वर, पुरानोबानेश्वरतर्फबाट चल्ने माइक्रोबस, तथा टेम्पोहरूलाई पुरानो बानेश्वरबाट सेतो पुल हँुदै कालोपुल भएर ओमअस्पताल निस्कने रुट तय भएको छ ।