नेतृत्वमा पुग्न तीनजनाको कडा प्रतिष्पर्धा

0 7

काठमाडौं, फागुन २३ । नेपाली कांग्रेसको जारी महाधिवेशनबाट नेतृत्वमा पुग्न तीन जना नेता सभापति पदमा प्रतिष्पर्धा गर्दै छन् ।

कार्यवहाक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्ण सिटौलाबीच त्रिपक्षीय प्रतिष्पर्धा हुन लागेको हो ।

तीनै जना नेता आ–आफ्नो प्यानल खडा गरी मैदानमा उत्रिएका छन् । महामन्त्रीमा अर्जुननरसिंह केसी, सशांक कोइराला गगन थापा प्रतिष्पर्धामा रहेका छन् ।

कोषाध्यक्षमा भने चित्रलेखा यादव, सीतादेवी यादव, उमाकान्त चौधरी र कृष्ण कार्की मैदानमा छन् । तीन वटै प्यानलका उम्मेदवारले नतिजा आफ्नो पक्षमा पार्न गएराति अबेरसम्म पनि प्रतिनिधिहरुसमक्ष प्रचार गरेका थिए ।

६१ केन्द्रीय सदस्यका लागि भने ३ सय १२ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । जसमा खुला २५ केन्द्रीय सदस्यका लागि ९० जना उम्मेदवार छन् ।

महिला आरक्षण तर्फको ६ सिटमा ३८ जना, प्रदेशतर्फ २ पदका लागि एक नम्बर प्रदेशमा १३ जना, दुईमा ५ जना, तीनमा १८ जना, चारमा ९, पाँचमा १०, छमा ५ र सात नम्बर प्रदेशमा ७ जना उम्मेदवार छन् ।

जनजाति पुरुष ३ पदका लागि ४० जना, महिला २ सिटका लागि १२ जना, दलित पुरुष ३ पदका लागि २० जना, महिला २ पदका लागि ५ जनाको उम्मेदवारी कायम रहेको छ ।

मधेसी आरक्षण तर्फको पुरुष ३ पदका लागि १५ जना, मधेसी महिला २ सिटका लागि ९ जना र मुस्लिम १ पदका लागि ६ जनाबीच प्रतिस्पर्धा हुदैछ ।
नयाँ कार्यसमितिका लागि हुने निर्वाचनमा कांग्रेसको ६४ पदका लागि ३ सय ७५ जनाको उम्मेदवारी परेको थियो ।

जसमध्ये हिजो ६३ जनाले केन्द्रीय सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिए । पदाधिकारीका लागि उम्मेदवारी दिएकाहरुले भने उम्मेदवारी फिर्ता लिएनन् ।