नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदै

0 3

काठमाडौं, फागुन २३ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको आज मूख्य दिन । आज नयाँ नेतृत्व र कार्य समिति चयनका लागि निर्वाचन हुँदैछ । यसका लागि काठमाडौंको राष्ट्रिय सभा गृहमा विहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने छ । मतदानका लागि आवश्यक सबै तयारी पूरा भएको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसका ३ हजार १ सय ६१ प्रतिनिधिले मताधिकार प्रयोग गर्दैछन् । निर्वाचन समिति संयोजक राधेश्याम अधिकारीका अनुसार निर्वाचनका लागि नौ किसिमका मतपत्र बनाइएको छ । सभापतिको एउटा र महामन्त्री एवं कोषाध्यक्षका लागि एक/एकवटा मतपत्र हुनेछन् । त्यस्तै, खुल्लातर्फका २५ सदस्य र प्रदेशबाट दुई-दुई जनाका दरले निर्वाचित हुने सदस्यका लागि छुट्टाछुट्टै मतपत्र बनाइएको छ ।

आरक्षित कोटाबाट निर्वाचित हुने महिला, जनजाति, मधेसी, दलित र मुस्लिम उम्मेदवारका लागि पनि छुट्टाछुट्टै मतपत्र हुनेछन् । सबै मतपत्र फरक-फरक रंगका हुनेछन् । आज मतदान सम्पन्न भएलगत्तै सभापति पदको मतगणना सभागृहमा नै गरिनेछ । यदि कुनै उम्मेदवारले खसेको कूल मतको स्पष्ट बहुमत अर्थात ५१ प्रतिशत मत ल्याउन नसकेमा तीन जनामध्ये पहिलो र दोस्रो उम्मेदवारबीच सोमबार पार्टी मूख्यालय सानेपामा निर्वाचन गर्ने व्यवस्था मिलाइएको छ ।

अरु पदको मत गणना भने पार्टी मूख्यालय सानेपामा गरिने व्यवस्था गरिएको छ । यसअघि हिजो सम्पन्न बन्द सत्रले प्रतिनिधिहरुको सुझावसहित विभिन्न प्रतिवेदन पारित गरेको छ । कार्यवाहक सभापति रामचन्द्र पौडेलका तर्फबाट नेता महेश आचार्यले पेश गरेको नीति तथा कार्यक्रम, महामन्त्री कृष्ण सिटौलाले पेश गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष चित्रलेखा यादवले पेश गरेको आर्थिक प्रतिवेदन पारित गरेको हो ।

प्रतिवेदन पारित गर्दै काँग्रेसले नयाँ संविधानको सफल कार्यान्वयन र आर्थिक विकासमा जोड दिएको छ । बन्दसत्र सकिएपछिको पत्रकार सम्मेलनमा कार्यवाहक सभापति रामचन्द्र पौडेलले प्रतिनिधिहरुबाट प्राप्त सुझावको आधारमा प्रतिवेदनलाई अन्तिम रुप दिइने बताए ।