‘अब काँग्रेससहितको राष्ट्रिय सरकार’

0 6

sher-dhan-Rai

दमक, फागुन २२ । सरकारका प्रवक्ता शेरधन राईले वर्तमान सरकारले छिट्टै राष्ट्रिय सरकारको आकार पाउने बताएका छन् । झापाको दमकमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री राईले काँग्रेस लगायत असन्तुष्ट दललाई ल्याएर यही सरकारले राष्ट्रिय आकार पाउने बताए ।

काँग्रेस आफ्नो महाधिवेशनमा केन्द्रित भएको र महाधिवेशन सकिएलगत्तै सरकारमा सहभागी हुने उनको भनाइ थियो । काँग्रेस तथा तराई, मधेसका दललाई सरकारमा ल्याउन आवश्यक पहल र संवाद भइरहेको जानकारी दिँदै मन्त्री राईले भने, “मुलुकलाई आर्थिक तथा सामाजिक रुपमा रुपान्तरण गर्न तथा संविधानको प्रभावकारी कार्यान्वयन गर्न दल एक ठाउँमा उभिनुको विकल्प छैन ।”

सत्ताका केही दलका नेताले वर्तमान सरकारको विकल्प खोजी भइरहेको भन्ने खबर आएका छन् नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री राईले भने,– “त्यो उहाँहरुको भ्रम मात्र हो, यो सरकारले नै संविधान कार्यान्वयनसँगै स्थानीय निकायको निर्वाचन गराउने छ ।”
सञ्चारमन्त्रीले सरकारले सञ्चार नीति थप व्यवस्थित बनाउन कार्ययोजनाका साथ लागेको जानकारी पनि दिए ।